भलिबलमा उल्टो खेल : जिएम र ढुंगेदेउराली फाइनलमा, समूह विजेता सेमिफाइनलमै पराजित

Share:

पोखरा। जिएम समाज र ढुंगेदेउराली क्लबले लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएका छन्। रोचक कुरा के छ भने-लिग चरणका समूह विजेता दुवै टिम सेमिफाइनलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए।

सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक नवआदर्श सामुदायिक विकास समाजलाई सोझो सेटमा पराजित गर्दै कावासोतीको जिएम समाज फाइनलमा प्रवेश गर्‍यो। समूह ‘बी’ को उपविजेता जिएम समाजले समूह ‘ए’ को विजेता आयोजक टिमविरुद्ध २५–१३, २५–२० र २५–२० को सेटमा सहज जित दर्ता गर्‍यो। म्याचको ‘म्यान अफ द म्याच’ जिएम समाजका विश्वास अधिकारी घोषित भए।

त्यसैगरी, दोस्रो सेमिफाइनलमा स्याङ्जा पौवेगौडेको ढुंगेदेउराली क्लबले विभागीय टोली एपीएफ पोखरालाई सोझो सेटमा हराउँदै उपाधि नजिक पुगेको हो। समूह ‘बी’ को विजेता एपीएफ र समूह ‘ए’ को उपविजेता ढुंगेदेउरालीबीच प्रतिस्पर्धा हुँदा ढुंगेदेउरालीले पहिलो सेट २५–१९ ले जित्यो। बाँकी दुई सेट पनि २५–२३ र २५–१९ को नतिजा निकाल्दै ढुंगेदेउरालीले फाइनलमा स्थान सुरक्षित गर्‍यो। क्लबका लिफ्टर राजन दर्माली म्यान अफ द म्याच घोषित भए।

छ टिम सहभागी प्रतियोगिताको लिग चरणमा आयोजक र एपीएफले समान २–२ खेल जितेर ६–६ अंकसहित समूह विजेता बनेका थिए। सोमबारको लिग खेलमा आयोजकले ढुंगेदेउरालीलाई ३–१ ले र एपीएफले जिएम समाजलाई ३-१ ले पराजित गरेका थिए। माछापुच्छ्रे गाउँपालिका र कृष्णदल फूलबारी अंकविहीन हुँदै अघिल्लो दिनमै प्रतियोगिताबाट बाहिरिएका थिए।

प्रतियोगिताको फाइनल मंगलबार दिउँसो १ बजे हुनेछ। त्यसअघि बिहान ११ बजे अन्तर मावि छात्रा भलिबल प्रतियोगिताको फाइनल खेल हुनेछ, जसमा टप्स र शान्ता माविबीच प्रतिस्पर्धा हुनेछ।

पुरुषतर्फ विजेता टोलीले नगद रु ३ लाख र उपविजेताले रु १ लाख ५० हजार पुरस्कार पाउनेछ। सर्वोत्कृष्ट खेलाडीलाई रु १० हजार दिइनेछ।
अन्तरमावि तर्फ विजेताले रु १ लाख, उपविजेताले रु ५० हजार, र सर्वोत्कृष्ट खेलाडीले रु ५ हजार पुरस्कार प्राप्त गर्नेछन्। साथै, दुवै विधामा उत्कृष्ट खेलाडीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा संस्थाको २९औं वार्षिकोत्सव तथा तीजको अवसरमा २७औं लामाचौर तीज महोत्सव आइतबारदेखि सुरु भएको हो।
मंगलबारसम्म सञ्चालन हुने महोत्सवमा तीज गीत प्रतियोगिता, अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, र कलाकारहरूको दैनिक प्रस्तुति रहेको क्लब अध्यक्ष दिनेश भण्डारीले जानकारी दिए।

महोत्सवमा औद्योगिक तथा व्यापारिक ५० स्टल स्थापना गरिएको छ। अन्तिम दिन अर्थात् मंगलबार, चर्चित कलाकारहरू प्रकाश दूतराज, श्रीदेवी देवकोटा, राजु ढकाल, र कृति गुरुङ लगायतले सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको छ।

कमेन्ट गर्नुहोस्
Share: