
पोखरा। विश्व शौचालय सङ्घका महासचिव वन होङ लीको नेतृत्वमा आएको कोरियाली प्रतिनिधिमण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेट गर्दै महानगर क्षेत्रमा अत्याधुनिक प्रविधियुक्त सार्वजनिक शौचालय निर्माणका लागि सहकार्यको प्रस्ताव गरेको छ।
भेटका क्रममा महासचिव लीले सङ्घले नेपालमा यसअघि काभ्रे र पर्वतमा दुईवटा सार्वजनिक शौचालय निर्माण गरिसकेको जानकारी दिँदै पोखरामा पनि सहकार्य गर्न चाहेको बताए।
नगर प्रमुख आचार्यले शौचालय निर्माण जनस्वास्थ्य र वातावरणसँग सम्बन्धित प्राथमिकताको विषय भएकाले महानगर सकारात्मक रहेको बताए। उनले भने, “पर्यटकीय राजधानी पोखरा संसारभरका पर्यटक आउने गन्तव्य हो। यहाँका मुख्य चोक र सघन बस्तीहरूमा सार्वजनिक शौचालय अपरिहार्य छन्।”
उनका अनुसार महानगरले हालसम्म १५ भन्दा बढी स्थानमा आफ्नै लगानीमा र ६० भन्दा बढी स्थानमा निजी साझेदारीमा सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन गरिसकेको छ।
“पोखरा महानगरपालिकाले एकल वा साझेदारीमा शौचालय निर्माण तथा सञ्चालन गर्दै आएको छ। अब अन्तर्राष्ट्रिय सञ्जालसँगको सहकार्यबाट सुविधा सम्पन्न शौचालय निर्माण गर्न आवश्यक प्रक्रिया पुर्याएर समन्वय गरिनेछ,” नगर प्रमुख आचार्यले बताए।
विश्व शौचालय सङ्घले २००७ देखि विश्वव्यापी सरसफाइको सुधारका लागि सार्वजनिक शौचालय निर्माण अभियान सञ्चालन गर्दै आएको छ। शौचालयमार्फत सरसफाइमा सुधार ल्याई मानव जीवन रक्षा गर्ने लक्ष्य बोकेको यो संस्था विभिन्न देशमा सहकार्य गर्दै आइरहेको छ।
उक्त भेटवार्तामा पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता मोतीलाल तिम्सिना, वडा नम्बर १७ की अध्यक्ष राधिका शाही योगी, सरसफाइ शाखा प्रमुख बलराम पाठक, विश्व शौचालय सङ्घका निर्देशक योङ चान सिम र सदस्य डा. सञ्जु कुमारी पौडेलको उपस्थिति थियो।
