खेलकुद पत्रकार मञ्च गण्डकीको सातौं साधारण सभा भदौ २६ गते, भोलिपल्ट क्षमता अभिवृद्धि तालिम पनि हुने

Share:

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको सातौं साधारण सभा आउँदो भदौ २६ गते हुने भएको छ। मञ्चको बिहीबार बसेको २१औं बैठकले उक्त निर्णय गरेको अध्यक्ष मानबहादुर घर्ती ‘एमबी आस्था’ ले जानकारी दिएका छन्।

साधारण सभामा हालै सम्पन्न नवौं पोखरा स्पोर्ट्स अवार्ड को समिक्षा तथा आय-व्यय विवरण सार्वजनिक गरिनेछ। साथै, मञ्चले खेलकुद पत्रकारितामा संलग्न व्यक्तिहरूको सीप र दक्षता अभिवृद्धिका लागि भदौ २७ गते विशेष तालिम कार्यक्रम समेत आयोजना गर्ने जनाएको छ।

अध्यक्ष आस्थाका अनुसार “मञ्च गण्डकी प्रदेशभरका खेलकुद पत्रकारहरूको साझा संस्था हो। साधारण सभा र तालिम दुबै कार्यक्रमले पत्रकारिताको गुणस्तर सुधारमा योगदान दिनेछन्।”

हाल मञ्चमा ७४ जना खेल पत्रकार आवद्ध छन्। गण्डकी प्रदेशस्तरीय संस्था बनिसकेको मञ्चको सुरुवात २०५८ सालमा रामकृष्ण ज्ञवालीको संस्थापक अध्यक्षतामा पोखराबाट भएको थियो। पछि २०७५ सालमा केशव पाठक नेतृत्वको तदर्थ समितिद्वारा दर्ता गराउँदै संस्थालाई प्रदेश संरचनामा रूपान्तरण गरिएको हो।

खेलकुद पत्रकारिता क्षेत्रमा सक्रियता बढाउँदै आएको मञ्चले क्षेत्रीयस्तरका पुरस्कार, बहस, गोष्ठी, तालिम लगायत कार्यक्रमहरू मार्फत खेल पत्रकारिता र खेल क्षेत्र दुबैलाई प्रवर्द्धन गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्
Share: