
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले जलवायु परिवर्तनको सबैभन्दा बढी असर नेपालजस्ता विकासोन्मुख मुलुकहरूमा परिरहेको बताएका छ । कानुनी युवा मञ्च (फ्लाई) द्वारा आयोजित ‘दक्षिण एशियाली जलवायु न्याय फेलोशिप तथा क्याम्प २०२५’ मा बोल्दै उनले जलवायु परिवर्तन र विश्व उष्णीकरणका कारण दक्षिण एशियाली मुलुकहरू गम्भीर जोखिममा परेको उल्लेख गरे ।
“जलवायु परिवर्तनका मुख्य कारक हामी होइनौं, तर असर भने हामीले नै धेरै ब्यहोर्नु परिरहेको छ,” प्रदेश प्रमुख भट्टले भने, “हाम्रा हिमालहरूमा सोझो असर परेको छ। हिमताल जोखिममा छन्। अनियमित वर्षाका कारण पहाडमा बाढी, पहिरो र तराईमा डुबानले जनधनको क्षति र खाद्य सङ्कट निम्तिएको छ।”
उनका अनुसार, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि अब ढिला नगरी विकासोन्मुख मुलुकहरूले अग्रसर हुनु आवश्यक भइसकेको छ। वातावरणीय प्रभाव मूल्यांकनको दायरा भित्र रही दीगो विकासको अवधारणा अवलम्बन गर्नुपर्ने उनको जोड थियो।
“औद्योगिक विकाससँगै हरितगृह ग्यास उत्सर्जन बढ्दा पृथ्वीको तापक्रम वृद्धिले वातावरण असन्तुलित भएको छ,” उनले भने, “सन् २०३० सम्म नेपालको तापक्रम १.७ डिग्री सेल्सियसले बढ्ने अनुमान छ। समयमै सजगता अपनाउन नसके ठूलो वातावरणीय संकट आउन सक्छ।”
प्रदेश प्रमुख भट्टले यो क्याम्पलाई नेपाल मात्र नभई सम्पूर्ण दक्षिण एशियाका लागि जलवायु परिवर्तनबारे समाधान खोज्ने फलदायी प्रयास भएको बताए। जलवायु न्याय, क्षेत्रीय असमानता, सीमा–पार असर, युवाको भूमिका, वित्तीय पारदर्शिता र नीति निर्माणमा युवाको सहभागिता जस्ता विषयलाई महत्वपूर्ण ठहर गर्दै उनले यस्ता कार्यक्रमहरूले नीति निर्माणको आधार तय गर्न सहयोग गर्ने धारणा राखे।
कार्यक्रममा दक्षिण एशियाका ७ राष्ट्रबाट आएका ४५ युवाहरूसँग जलवायु न्यायका विविध पक्षमा विशेष छलफल र अभ्यास सत्र हुने आयोजक संस्था ‘फ्लाई’ का प्रतिनिधि चेतन जेठाराले जानकारी दिए। उनका अनुसार, यो क्याम्पमार्फत सीमा–पार युवा एकता, आदिवासी तथा उपेक्षित समुदायको आवाजलाई जलवायु शासनमा समावेश गर्ने र दक्षिण एशियाली वैकल्पिक समाधानहरूमा युवाको ज्ञान बलियो बनाउने लक्ष्य राखिएको छ।
