
पोखरा। पोखरा गैह्रापाटनस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शनिवार एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विद्यालयको आधारभूत तह (कक्षा ८ सम्म) मा अध्ययनरत ९६ जना विद्यार्थीका अभिभावकहरूलाई लक्षित गरी आयोजना गरिएको थियो।
कार्यक्रममा भाव काठमाडौंका संस्थापक तथा मनोवैज्ञानिकद्वय प्रशान्त श्रेष्ठ र चाँदनी घिमिरेले किशोरावस्थामा प्रवेश गरेका बालबालिकाको सामाजिक-संवेगात्मक विकास सम्बन्धमा अभिभावकहरूलाई प्रशिक्षण दिए।
प्रशिक्षणमा किशोरकिशोरीहरूको स्वतन्त्रता, भावनात्मक सुरक्षा, मान्यता, प्रोत्साहन तथा मार्गदर्शन जस्ता विषयमा विशेष जोड दिइएको छ। यस उमेरका बालबालिकामा देखिने विभिन्न भावनात्मक अवस्थाहरूको सहजीकरण गर्दै, अभिभावकहरूले उनीहरूप्रति सकारात्मक सोचसहित व्यवहार गर्नु आवश्यक रहेको प्रशिक्षकहरूले उल्लेख गरे।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले वर्तमान पुस्ताका बालबालिका भौतिक सुख-सुविधामा रमाउन चाहने प्रवृत्तिका बीच पनि अभिभावक प्रतिको जिम्मेवारीबोध गराउनुपर्नेमा जोड दिए।
त्यस्तै, अभिभावक राजकुमार कार्कीले यस्ता कार्यक्रमले आफ्ना छोराछोरीको मनोविज्ञान बुझ्न सहज हुने धारणा व्यक्त गरे। कार्यक्रममा अभिभावक र प्रशिक्षकबीच विविध विषयमा अन्तरक्रिया समेत भएको थियो।
कार्यक्रमको दोस्रो सत्रमा विद्यालयका आधारभूत तथा माध्यमिक तहका शिक्षकहरूलाई Educators’ Guide अन्तर्गत विभिन्न शैक्षिक र मनोवैज्ञानिक पक्षहरूमा सहजीकरण गरिएको शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए।
