पोखरामा ऐच्छिक गणित शिक्षक लक्षित नमुना प्रश्न तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

Share:

पोखरा । गणित शिक्षा परिषद् कास्कीको आयोजनामा कास्की जिल्लाभरका ऐच्छिक गणित विषयका शिक्षकहरूलाई लक्षित गरी नमुना प्रश्न निर्माण तथा शिक्षक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सहभागी शिक्षकहरूलाई ऐच्छिक गणितको पाठ्यक्रमको विशिष्टीकरण तालिका, नमुना प्रश्नको ढाँचा, तथा प्रश्न निर्माण प्रक्रिया बारे विस्तृत जानकारी प्रदान गरिएको थियो। कार्यक्रमका सहजकर्ता डी.आर. सिम्खडाले शिक्षकहरूलाई पाठ्यक्रमका प्राविधिक पक्षहरूमा मार्गदर्शन गर्नुका साथै प्रश्न निर्माणमा व्यावहारिक अभ्यास गराएका थिए।

कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षकहरूले पाठ्यपुस्तक अध्ययन गर्नु अघि पाठ्यक्रमको गहिरो समझ आवश्यक रहेको बताए। उनले विद्यार्थीहरूमा गणितप्रतिको डर हटाउनुपर्ने उल्लेख गर्दै, डिजिटल प्लेटफर्महरू, सरकारी शैक्षिक पोर्टलहरू तथा अन्तर्राष्ट्रिय स्रोतहरूलाई प्रभावकारी रूपमा प्रयोग गर्न शिक्षकहरूलाई आग्रह गरे।

कार्यक्रममा कास्की जिल्लाका विभिन्न विद्यालयका ऐच्छिक गणित विषयका शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता परिषद् कास्कीका अध्यक्षले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष भूमिराज अधिकारीले र सञ्चालन जिल्ला सचिव ध्रुव पौडेलले गरेका थिए।
कार्यक्रम रिडमोर पब्लिकेशनको सहयोगमा सम्पन्न भएको परिषद्को सूचना तथा सञ्चार संयोजक जयराम पौडेलले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: