
पोखरा । पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीको बाघमारामा विहीबारदेखि बाघमारा महोत्सव सुरु भएको छ। स्थानीय शुभतारा युवा क्लबको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गमलामा पानी राखी र पानसमा दीप प्रज्वलन गरी एक विशेष समारोहका बीच उद्घाटन गरे।
क्लबका अध्यक्ष देवेन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख आचार्यले महोत्सवबाट स्थानीयवासीले नयाँ ज्ञान र अनुभव प्राप्त गर्न सक्ने बताए। साथै, आगामी वर्षहरूमा महोत्सवको विशेष आकर्षण के बनाउने भन्ने विषयमा योजना बनाउनुपर्ने कुरामा जोड दिए। उनले महोत्सवले भरतपोखरी क्षेत्रका जातजाति, भाषा र संस्कृतिलाई एकत्रित गर्न सकोस् भनी शुभकामना व्यक्त गरे।
वडा नं। ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले बाघमारा महोत्सवले स्थानीय सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदान पु¥याउने विश्वास व्यक्त गरे। उनले विभिन्न समुदाय र जनजातिहरूलाई एउटै मञ्चमा ल्याएर आपसी समझदारी र सहकार्य बढाउने, साथै स्थानीय उत्पादन, हस्तकला, परिकार र पर्यटन गतिविधिलाई बजारसँग जोड्ने अवसर मिलेको बताए। साथै, महोत्सवलाई सबै वडावासीको अपनत्व हुने गरी सञ्चालन गर्नुपर्ने सुझाव पनि दिए।
कार्यक्रममा पत्रकार सन्दीप पौडेलले सञ्चालन गरेका थिए भने क्लबका सदस्य श्रीराम भुसालले धन्यवाद ज्ञापन गरे। क्लब अध्यक्ष देवेन्द्र सापकोटाले महोत्सव सांस्कृतिक संरक्षण, सामाजिक एकता, आर्थिक प्रवर्द्धन, पर्यटन आकर्षण, शिक्षा र चेतनाका लागि आयोजना गरिएको बताउँदै सबैबाट सहकार्य र साथको अपेक्षा व्यक्त गरे।
महोत्सवमा १०० भन्दा बढी स्टलहरू रहेका छन्, जसमा फेन्सी, गार्मेन्ट, भाँडा, कृषि, बैंक तथा वित्तीय संस्था, रेस्टुरेन्ट आदि सामेल छन्। रत्यौली तर्फ २४ समूह सहभागी छन् भने विद्यालयस्तरीय नृत्य प्रतियोगिता पनि आयोजना गरिएको छ। स्थानीय आमा समूह तथा टोल विकास संस्थाहरूले झाँकी ¥याली प्रस्तुत गरेका थिए।
कार्यक्रममा कलाकार रामजी पौडेल लगायतले सांगीतिक प्रस्तुति दिएका थिए। समाजसेवी केशरप्रसाद निर्दोषी, वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू लगायतले पनि शुभकामना मन्तव्य दिएका थिए।
शुभतारा युवा क्लब सन् २०७० सालमा स्थापना भएको संस्था हो, जसले सामाजिक, सांस्कृतिक गतिविधि र युवाहरूमा चेतना प्रवर्द्धनका लागि क्रियाशील भूमिका खेल्दै आएको छ। भदौ १९ गतेदेखि सुरु भएको महोत्सव भदौ ३० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन्।
