
पोखरा । पोखरा महानगरपालिका-८ गैह्रापाटनस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रबार वार्षिक कार्यतालिकाअनुसार नेपाली भाषा कौशल प्रतियोगिता सम्पन्न भएको छ। आधारभूत तह (कक्षा ८ सम्म) अन्तर्गत पहिलो चरणको प्रतियोगिता आधारभूत तह इञ्चार्ज सजनी मजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त तहको प्रतिस्पर्धामा यती सदनका आदित्य खत्री, श्रद्धा के.सी., एन्जिला ढकाल र एलिस आउजी सम्मिलित समूहले प्रथम स्थान हासिल गरेको छ। गुँरास सदनका रियाना लामिछाने, चाहना आचार्य, नस्बिना गौतम र रबिना महतराको समूह द्वितीय भएका छन्।
दोस्रो चरणमा माध्यमिक तह (कक्षा ९ र १०) अन्तर्गतको कार्यक्रम सह–प्राचार्य मुकेश कुमार अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। यस तहमा डाँफे सदनका ओजस्वी भुजेल, सक्षम गैह्रे र दिव्या आचार्यको समूहले प्रथम स्थान प्राप्त गरेका छन्।
गुँरास सदनका प्रसिद्धि थापा, प्रतीक पौडेल र विज्ञान सुवेदी सम्मिलित समूह द्वितीय भएका छन्। कार्यक्रमबारे जानकारी दिँदै अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक दिपेन्द्र थापाले विद्यार्थीहरूमा सुनाइ, बोलाइ र लेखाइ-नेपाली भाषाका तीनवटै कौशल विकास गर्न प्रतियोगिता आयोजना गरिएको बताए।
प्रतियोगिताको निर्णायक मण्डलमा नेपाली विषयका शिक्षक उमा पोख्रेल, दिपक के.सी. र सुरेन्द्र सदिच्छा रहनुभएको थियो। कार्यक्रममा शिक्षक भुवन गुरुङले प्राविधिक सहयोग, शिक्षिका मुना देवकोटाले अङ्कन र संयोजक दिपेन्द्र थापाले कार्यक्रम सञ्चालन गरेका थिए।
