
पोखरा। आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले उद्योगी तथा व्यवसायीहरूलाई कर मामिलामा सचेत रहन र सम्पूर्ण जिम्मेवारी कर सहयोगी (कर एजेन्ट) लाई नछोड्न आग्रह गरेका छन्।
“करोडौं लगानी गर्ने उद्योगी-व्यवसायीहरूले करसम्बन्धी आवश्यक जानकारी आफैं पढ्नुपर्छ,” ढुंगानाले पोखरा उद्योग वाणिज्य संघद्वारा आइतबार आयोजित स्वागत कार्यक्रममा बोल्दै भने, “युजरनेम र पासवर्ड कर सहयोगीलाई दिएर ढुक्क हुने प्रवृत्तिले पछि गम्भीर समस्या आउन सक्छ। केही गडबडी भयो भने ‘मलाई थाहा थिएन’ भनेर उम्कन सकिँदैन।”
उनले कर प्रणाली आत्मघोषणामा आधारित भएकाले कर विवरण एकपटक घोषणा गरेपछि त्यसलाई सच्याउन गाह्रो हुने बताए। ढुंगानाले आन्तरिक राजश्व कार्यालय कसैको उजुरीकै भरमा व्यवसायीमाथि छापा नमार्ने स्पष्ट पारे। “प्रतिस्पर्धा र ईर्ष्याले कसैले उजुरी गरे पनि हामी तत्काल हानिँदैनौँ, अनुसन्धानपछि मात्र कारवाही हुन्छ,” उनले भने।
उहाँले अहिलेको फेसलेस कर प्रणालीमार्फत करसम्बन्धी ७५ प्रतिशत काम घरैबाट गर्न सकिने बताए। “पहिला कर कार्यालय जान डर लाग्थ्यो, अहिले प्रणालीमै परिवर्तन आएको छ,” उनले थपे।
गृह जिल्लामा जिम्मेवारी
पोखरा २६ बुढीबजारका स्थायी बासिन्दा ढुंगाना १७ वर्षे निजामती सेवाको अनुभवसहित गृह जिल्ला कास्कीको कर कार्यालयमा प्रमुखको रूपमा आएका हुन्। “कर प्रशासनमा प्रायः गृह जिल्लामा जान चासो हुँदैन, तर म जोखिम मोलेर आएको हुँ,” उनले भने।
“ठूलो कर छली भए जिल्लावासी हो भनेर छुट छैन, तर सहजीकरणमा म सधैं तयार छु,” प्रमुख कर अधिकृत ढुंगानाले प्रष्ट पारे। कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले करप्रति व्यवसायीलाई जागरुक बनाउने संघको दायित्व रहेको बताए।
“आन्तरिक राजश्व कार्यालय भनेको कर तिर्ने पहिलो ढोका हो, यो राज्यको रक्तनली हो,” उनले भने, “हामी कर शिक्षालगायत कार्यक्रममार्फत करदातालाई सचेत बनाउँछौँ, कर प्रशासनले पनि सहजीकरणमा सहयोग गरोस्।” कार्यक्रम सञ्चालन संघकी महासचिव शोभा गौतमले गरेकी थिइन् भने कोषाध्यक्ष मनोजकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए।
