राजधानीमा सुरक्षा कडाइ, शीर्ष नेताहरू अघोषित नजरबन्दमा, सेनाले चाल्यो निर्णायक कदमको संकेत

Share:

काठमाडौं । देशमा बढ्दो अशान्ति र जेनजी आन्दोलनका नाममा फैलिएको हिंसात्मक गतिविधिलाई नियन्त्रणमा लिन नेपाली सेनाले राजधानीमा उच्च सतर्कता अपनाएको छ। सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधव नेपाललगायत प्रमुख दलका शीर्ष नेताहरूलाई सुरक्षाका नाममा अघोषित नजरबन्दमा राखिएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार ती नेताहरूको मोबाइल फोन बन्द गर्न लगाइएको छ र उनीहरूको बाह्य सम्पर्क पूर्ण रूपमा काटिएको छ। दिउँसोसम्म दलभित्रका नेताहरूसँग सम्पर्कमा रहेका उनीहरूसँग एकाएक सम्पर्क टुटेको विपक्षी नेताहरूको भनाइ छ।

आजदेखि विभिन्न दलका कार्यकर्ताहरू राजधानीको सडकमा देखिन थालेपछि सुरक्षाको दृष्टिले खतरा बढ्न सक्ने आँकलन गर्दै सेनाले नेताहरूलाई कार्यकर्तासँग सम्पर्कविहीन बनाएको बताइएको छ। साथै, पाँचखालस्थित युनिफिल्ड तालिम केन्द्रसहित काठमाडौं उपत्यकाभरि सेनाको उपस्थिति तीव्र रूपमा बढाइएको छ।

साँझपख काठमाडौंका मुख्य नाका, चोक र संवेदनशील क्षेत्रहरूमा व्यक्तिगत सुरक्षा जाँच कडा पारिएको छ भने सर्वसाधारणको आवतजावतमा पनि नियन्त्रण गरिएको छ।

आज रातिको कर्फ्यू प्रभावकारी बनाउने उद्देश्यले सेनाको मुख्यालयले उपत्यका पृतना र सैनिक प्रहरीलाई विशेष आदेश दिएको स्रोतले जनाएको छ। अत्यावश्यक सेवाको नाममा हुने अनुचित घुसपैठ रोक्न गम्भीर सावधानी अपनाउन भनिएको छ।

स्रोतका अनुसार देशको वर्तमान जटिल परिस्थितिलाई मध्यनजर गर्दै प्रधानसेनापतिले मित्रराष्ट्र चीनको पूर्व निर्धारित भ्रमण कार्यक्रम रद्द गरेका छन्। सैनिक मुख्यालय भित्रको वातावरणले सेनाले अबको केही घण्टाभित्र थप निर्णायक कदम चाल्न सक्ने स्पष्ट संकेत दिएको देखिन्छ।

कमेन्ट गर्नुहोस्
Share: