
पोखरा। गत भदौ २३ र २४ गते पोखरामा भएको जेनजी आन्दोलनले गण्डकी प्रदेश सरकारका विभिन्न मन्त्रालय, आयोग र महत्त्वपूर्ण कार्यालयहरूमा अर्बौं रुपैयाँ बराबरको भौतिक क्षति पुर्याएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि प्रदेश सभा सचिवालयसम्मका संरचनाहरूमा भएको आगजनी, तोडफोड र चोरीले प्रदेशको प्रशासनिक संयन्त्रलाई अस्तव्यस्त बनाएको छ। यस विध्वंशले प्रदेश सरकारलाई स्तब्ध पारेको छ भने जनजीवन र सेवा प्रवाहमा गम्भीर असर पारेको छ।
मुख्य प्रशासनिक केन्द्रमा भीषण आगजनी
आन्दोलनकारीको मुख्य निसानामध्ये एक बनेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ। मुख्यमन्त्रीको निवाससहित कार्यालयमा भएको आगलागीले सभाहल, मुख्यमन्त्रीको कार्यकक्ष, मन्त्रिपरिषद्को बैठक कक्ष र प्रदेश पुस्तकालय खरानी बनेका छन्। ७ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि जलेका छन्।
त्यस्तै, गण्डकी प्रदेश सभा सचिवालय पनि आन्दोलनको क्रूर प्रहारबाट जोगिन सकेन। प्रदेश सभा भवन, सचिवालयको प्रशासनिक भवन, ४ वटा संसदीय दलका कार्यालय, प्रहरी ब्यारेक, आवास भवन, पुस्तकालय र स्वास्थ्य शाखासहित सम्पूर्ण भवन जलेर नष्ट भएका छन्। सञ्चार तथा विद्युत उपकरण, ६ वटा चारपांग्रे सवारी, १२ वटा दुईपांग्रे सवारी, ३९ थान डेस्कटप, १९ थान ल्यापटप, डिजिटल तथा भिडियो क्यामेरा, प्रिन्टर र एसीहरूसहित अर्बौंको क्षति पुगेको छ।
मन्त्रालयहरूमा व्यापक क्षति
विभिन्न मन्त्रालयहरूमा पनि व्यापक क्षति पुगेको विवरण सार्वजनिक भएको छ । गण्डकी प्रदेश कार्यालयका अनुसार प्रदेश नीति तथा योजना आयोगमा रहेका ३ वटा गाडी र ४ वटा मोटरसाइकल जलेका छन् भने जिल्ला समन्वयको भागमा आगजनी भएको छ। यद्यपि, माथिल्लो तलाबाट आधारभूत सेवा सञ्चालन गर्न सकिने अवस्थामा छ।
यसैगरी, वन तथा वातावरण मन्त्रालयमा राखिएका ५ वटा गाडी, ८ वटा मोटरसाइकल र ४ वटा स्कुटर जलेका छन्। लेखा शाखा र दर्ता चलानी शाखामा आगजनी भएको छ। स्टोर तोडफोड भई ल्यापटप, किज, भाँडाकुँडालगायत चोरी भएका छन्। मन्त्रीको सचिवालय र कार्यकक्ष पूर्ण रूपमा तोडफोड गरिएको छ भने भवनका सबै सिसा फुटाएका छन्।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय राखिएका ५ वटा चारपांग्रे गाडी र १२ वटा दुईपांग्रे सवारी साधन जलेका छन्। मन्त्रीको निवास र सचिवको कार्यकक्षमा क्षति पुगेको छ भने सभाहलमा तोडफोड र लेखा शाखाका सबै कम्प्युटर चोरी भएका छन्। खेलकुद शाखाका सबै कोठा जलेका छन्।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा राखिएका ६ वटा चारपांग्रे गाडी र २७ वटा दुईपांग्रे सवारी साधन जलेका छन्। निर्देशनालयको स्टोरमा आगजनी र सामग्री चोरी भएको छ। यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र र सवारी दुवै कार्यालय पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
४ लाख ४२ हजार राजस्व रकमसमेत हराएको छ। यस्तै, आर्थिक मामिला मन्त्रालयमा ३ वटा चारपांग्रे गाडी र ६ वटा दुईपांग्रे सवारी साधन जलेका छन्। मन्त्रीको कार्यकक्ष तोडफोड र तल्लो तलामा आंशिक आगजनी भएको छ। ३ ल्यापटप, २ कम्प्युटर, २ प्रिन्टरसहित धेरै इलेक्ट्रोनिक र फर्निचरका सामग्री चोरी तथा नष्ट भएका छन्।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयस् १ वटा चारपांग्रे गाडी, १ वटा स्कुटर र मन्त्रीको निवासमा आगजनी भएको छ। ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा मन्त्रालयका ४ वटा, खानेपानी कार्यालय तनहुँको १ वटा र जलस्रोत कार्यालय कास्कीको १ गरी ६ वटा चारपांग्रे गाडी र १८ थान मोटरसाइकल जलेका छन्।
२२ थान कम्प्युटर, २७ थान प्रिन्टर, २१ थान ल्यापटपसहित करोडौं बराबरका इलेक्ट्रोनिक सामग्री जलेका वा तोडफोड भएका छन्। पर्यटन तथा उद्योग मन्त्रालयमा ४ वटा गाडी र ५ वटा मोटरसाइकल पूर्ण रूपमा जलेका छन्। निर्देशनालयको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
आयोग र कार्यालयहरूमा पनि नोक्सान
यस्तै, गण्डकी प्रदेश प्रमुखको कार्यालयमा रहेका ४ वटा चारपांग्रे गाडी, ३ वटा मोटरसाइकल र २ वटा कर्मचारीका निजी मोटरसाइकल जलेका छन्। कम्प्युटरलगायत इलेक्ट्रोनिक सामग्री र अधिकांश कागजात जलेका छन्। निवासतर्फको भवन पूर्ण रूपमा जलेको र सामग्री चोरी भएको छ।
प्रदेश लोक सेवा आयोगस् ४ वटा चारपांग्रे र १ वटा दुईपांग्रे गाडी जलेर नष्ट भएका छन्, जसबाट २९ लाख बराबरको क्षति भएको अनुमान छ। प्रदेश लेखा नियन्त्रकको कार्यालयमा पनि सेवा प्रवाह अवरुद्ध हुने गरी क्षति नभएको छ।
यस्तै, स्वास्थ्य मन्त्रालयमा भौतिक संरचनामा क्षति नभएको भए पनि मातहतका ३ वटा स्कुटर जलाइएको छ। जेनजी आन्दोलनका क्रममा भएको यो विध्वंशले गण्डकी प्रदेशको विकास र सुशासनमा ठूलो धक्का पुगेको छ। ध्वस्त भएका संरचनाहरूको पुनर्निर्माण र सेवा प्रवाहलाई पूर्ववत् अवस्थामा फर्काउन प्रदेश सरकारलाई ठूलो चुनौती र आर्थिक भार परेको छ।
