
पोखरा । जेनजी पुस्ताले थालेको आन्दोलनको क्रममा पोखरा इभेन्ट सेन्टरमा भएको आगजनी, तोडफोड र लुटपाटप्रति सञ्चालक समूहले गम्भीर ध्यानाकर्षण जनाएको छ। दिउँसो करिब १/३० बजे भएको उक्त घटनाले सेन्टरमा करोडौं रुपैयाँ बराबरको भौतिक तथा आर्थिक क्षति पुर्याएको जनाउँदै, सञ्चालकहरूले उक्त संरचना केवल निजी सम्पत्ति नभई “पोखराको साझा सम्पदा” भएको बताएका छन्।
प्रेस विज्ञप्तिमा उनीहरूले राजनीतिक तथा व्यक्तिगत स्वार्थप्रेरित आपराधिक गिरोहको घुसपैठका कारण इभेन्ट सेन्टर ध्वस्त भएको उल्लेख गरेका छन्। “हामीमध्ये धेरै साथीहरू विदेशिने प्रवृत्तिबीच स्वदेशमै केही गर्ने सोचले ठूलो लगानी गरेका थियौं। तर पछिल्ला घटनाक्रमले नेपालमै बसेर केही गर्न खोज्नु गल्ती थियो कि भन्ने सोच्न बाध्य बनायो,” विज्ञप्तिमा भनिएको छ।
सञ्चालक समूहले आन्दोलनमा संलग्न व्यक्तिहरूलाई वास्तविक जेनजी आन्दोलनकारी नभई आर्थिक, राजनीतिक र व्यक्तिगत स्वार्थका लागि सक्रिय आपराधिक गिरोह भएको ठहर गर्दै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।
पोखरा इभेन्ट सेन्टर आधुनिक पूर्वाधारसहित निर्माण गरिएको संरचना हो। यहाँ २ हजार जनाको क्षमताको मुख्य हल, ५ हजारसम्मलाई सेवा दिन सक्ने क्षमता, ८ वटा बहुउद्देश्यीय हलहरू, स्थायी रूपमा ३५ जनालाई रोजगारी र सयौंलाई आंशिक रोजगारी दिने अवसर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
सञ्चालकहरूका अनुसार, सेन्टरले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, प्रवासी नेपालीको लगानी आकर्षण, अन्तर्राष्ट्रिय सम्मेलन तथा सांस्कृतिक कार्यक्रमहरूमा उल्लेखनीय योगदान पुर्याउँदै आएको थियो। “पोखरा इभेन्ट सेन्टरमा भौतिक क्षति पुगेको हो, तर हाम्रो सपना र उत्साह भने नष्ट भएको छैन। हाम्रो सम्पत्ति जलेको हो, आँट र साहस होइन। यो केवल केही लगानीकर्ताको नभई सम्पूर्ण पोखरालीको साझा संरचना हो,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
