मन्त्रालय र क्वार्टर जलेपछि गण्डकीका मन्त्रीहरू भन्छन्- सत्ता छ तर शरण छैन, गाह्रो भयो

Share:

पोखरा । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे युएईमा हुँदा गण्डकी प्रदेशमा एउटा यस्तो आँधी आयो, जसले उनको सरकारको भौतिक संरचनालाई खरानीमा परिणत गरिदियो। भदौ २२ र २३ गते जेनजीको प्रदर्शनले गण्डकी प्रदेशलाई जुन विध्वंसको भूमरीमा धकेल्यो, त्यसको प्रत्यक्षदर्शी मुख्यमन्त्री पाण्डे थिएनन्, तर सामाजिक सञ्जालका भित्ताहरूले उनलाई यसको भयावह दृश्य देखाइरहेका थिए। उनी नेपाल फर्कँदा त केन्द्रीय सरकार नै फेरिएको थियो, प्रतिनिधिसभा विघटन भइसकेको थियो। तर प्रदेशसभा विघटन नभएका कारण उनी अझै मुख्यमन्त्रीको पदमा त कायम छन्, तर काम गर्ने ठाउँ र बस्ने बाससमेत गुमाएका छन्।

अस्तव्यस्त राजधानी

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जुन प्रदेश सरकारको मुटु मानिन्छ, त्यो अहिले खरानीको ढिस्कोमा परिणत भएको छ। प्रदर्शनकारीले पेट्रोल छर्केर आगो लगाएका कारण भवनको स्वरुप नै बदलिएको छ। आगोको राप र धुँवाको गन्ध मत्थर भए पनि क्षतिको घाउ आलै छ। अहिले कार्यालयको सरसफाइ चलिरहेको छ, तर त्यहाँबाट पुनः कामकाज कहिले सुरु हुन्छ, कसैलाई थाहा छैन।

मुख्यमन्त्रीको निवास पनि यो विध्वंसबाट जोगिएन। आगोले लपेटेपछि मुख्यमन्त्री पाण्डे अहिले मुख्य सचिवको क्वार्टरमा बस्न बाध्य छन्। उनको निवासको सरसफाइ चलिरहेको छ, तर पुनः प्रयोगमा आउन कति समय लाग्छ, त्यो अनिश्चित छ।

जलेका मन्त्रालय र छरिएका मन्त्रीहरू

गण्डकी प्रदेशका नौमध्ये मालेपाटनमा रहेको भूमि, व्यवस्था तथा कृषि र रामघाटमा रहेको स्वास्थ्य मन्त्रालयबाहेक अन्य सबै मन्त्रालयहरू आगजनीमा परेका छन्। राष्ट्रबैंक चोक आसपासका प्रायः सबै सरकारी कार्यालयहरूमा आगो लगाइएको थियो। राष्ट्रबैंक चोकभन्दा केही तल रहेका मन्त्री क्वार्टरहरू पनि आगोको चपेटामा परे।

आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ, जसको मन्त्रालय र निवास दुवै जले, उनी पनि अहिले सचिव निवासमा बसिरहेका छन्। उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालको निवासमा आगजनी नभए पनि लुटपाट भयो। घरमा केही पनि सामान नबचेपछि बस्याल प्रदेशसभा सदस्य हुँदा भाडामा लिएको पुरानो डेरामा सरेका छन्। भूमि व्यवस्था, कृषिमन्त्री पद्या जिसी श्रेष्ठको मन्त्रालय जोगिए पनि निवास जलेपछि उनी नवलपुरस्थित आफ्नै घरमा फर्केकी छिन्।

उनी कहिले फर्किन्छिन्, निश्चित छैन। सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा प्रदर्शनको बेला बाहिर थिए। उनको नयाँबजारस्थित घर पूर्ण रूपमा ध्वस्त भएको छ। उनको बगैँचा रिसोर्ट, अंशुभरा ग्रुपको कार्यालय र उनका भाइ ध्रुव थापाको घरसमेत जलाइएको थियो।

यस क्रममा व्यापारिक भवनभित्रै जलेको शवसमेत भेटिएको थियो, जसले विध्वंसको भयावहतालाई दर्शाउँछ। हाल उनी काठमाडौंमा छन् र बस्ने ठाउँको खोजी तथा मर्मतका लागि अध्ययन भइरहेको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीको पनि मन्त्री निवासदेखि घरसम्म आगजनीमा परेको थियो। उनले आफ्नो घर मर्मत गरेर त्यहीँ बस्न थालेका छन्।

सभामुख निवास पनि खण्डहर

गण्डकी सरकारले सभामुख, उपसभामुख र मन्त्रीहरूलाई आवास सुविधा उपलब्ध गराउँदै आएको थियो। तर प्रदर्शनकारीको निशानामा परेपछि नागढुंगामा रहेको सभामुख र उपसभामुख निवाससहित प्रदेशसभा भवनसमेत खण्डहरमा परिणत भएको छ।

उपसभामुख बिनाकुमारी थापाले आफ्नो निवास प्रयोग गर्न नमिल्ने भएपछि केही दिन साथीहरूको घरमा बिताइन्। सभामुख कृष्ण धितालका अनुसार प्रदेशसभा भवन प्रयोग गर्न नमिल्ने गरी ध्वस्त भएको छ। उपसभामुख निवासमा अत्यधिक क्षति पुगेकाले अहिले सभामुख निवासका केही कोठाहरूलाई उपसभामुखको निवासका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाइएको छ।

सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री डा। टकराज गुरुङका अनुसार सरकारी निवासमा भएको क्षतिको मूल्यांकनसहित त्यसलाई पुनःप्रयोग गर्न मिल्ने वा नमिल्ने भन्नेबारे मंगलबार समितिले प्रतिवेदन बुझाउनेछ। पुनःप्रयोग गर्न मिल्ने निवासहरूलाई तत्काल शेयरिङमार्फत बस्ने व्यवस्था मिलाइनेछ भने सरकारी कर्मचारीहरूलाई पनि शेयरिङमा बस्न आग्रह गरिएको छ।

सरकारी संरचनाको मर्मत गर्ने वा नयाँ निर्माण गर्ने भन्नेबारेमा यकिन भइनसकेको गुरुङले बताए। प्रदर्शनका कारण गण्डकीका सरकारी संरचनामा मात्र करिब दुई अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ। गण्डकी प्रदेशमा जनविद्रोहले छाडेको यो घाउ निको हुन लामो समय लाग्ने देखिन्छ। जलेका भवनहरू र भत्किएका सपनाहरूका बीचबाट गण्डकी सरकारले कसरी आफ्नो प्रशासनिक कार्यभारलाई अगाडि बढाउँछ र प्रदेशलाई कसरी पुनः निर्माण गर्छ, त्यो हेर्न बाँकी नै छ।

कमेन्ट गर्नुहोस्
Share: