पुनःनिर्माणका लागि युनाइटेड क्लबले दियो पोखरा १० र १२ लाई कम्प्युटर

Share:

पोखरा । जेन्जी आन्दोलनका क्रममा आगलागीबाट पूर्ण रुपमा क्षति पुगेका पोखरा महानगरपालिका वडा नं १० र १२ का कार्यालयहरूलाई युनाइटेड क्लब पोखराले कम्प्युटर र प्रिन्टर सहयोग हस्तान्तरण गरेको छ। गत भदौ २४ गतेको आन्दोलनमा वडा कार्यालयहरू जलेर नष्ट भएपछि सेवा प्रवाहमा समस्या उत्पन्न भएको थियो। त्यसपछि तिहारमा देउसी भैलो कार्यक्रमबाट संकलित विपद् व्यवस्थापन कोषमार्फत युनाइटेड क्लबले यो सहयोग प्रदान गरेको हो।

मंगलबार आयोजित कार्यक्रममा युनाइटेड क्लबका अध्यक्ष लोक बहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, उपाध्यक्ष गणेश तिमिल्सिना, विपद् व्यवस्थापन संयोजक सूर्य बहादुर बानियाँ, कोषाध्यक्ष जयराम आचार्य, सचिव सन्तोष कार्की लगायत क्लब टोलीले वडा नं १० का अध्यक्ष राजेश गुरुङलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरे।

त्यसैगरी, पोखरा महानगरपालिका वडा नं १२ मा आयोजित अर्को कार्यक्रममा मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतामा वडा अध्यक्ष सन्तोष बास्तोला, वडास्तरीय पुनर्निर्माण समिति संयोजक टिका बहादुर कार्कीलगायतलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरियो।

कार्यक्रममा मेयर आचार्यले भने, “वडाका कार्यालयहरू जनतासँग प्रत्यक्ष सेवा दिन्छन्। पुनःनिर्माणमा स्थानियको भूमिका महत्त्वपूर्ण हुन्छ। युनाइटेड क्लबजस्ता संस्थाको सहयोगले पुनर्निर्माणको गति तीव्र हुन्छ।” उनले जेन्जी आन्दोलनको क्रममा भौतिक संरचना ध्वस्त पार्नेहरूमाथि कानुनी कारबाही अपरिहार्य रहेको समेत बताए।

वडा नं १२ ले संकलन गर्‍यो १० लाख बराबरको सहयोग

पुनर्निर्माण समिति संयोजक टिका बहादुर कार्कीले भने, “वडाको कार्यालय जलेर नष्ट हुँदा अत्यन्त मर्माहत भयौं। तर, ‘आफ्नो वडा आफैँ बनाऔं’ भन्ने सोचका साथ संघसंस्था र व्यक्तिहरूबाट हालसम्म १० लाख नगद र जिन्सी सहयोग प्राप्त भइसकेको छ।” उनले अझै थप सहयोग आवश्यक हुनसक्ने जनाए।

क्लब अध्यक्ष लोक बहादुर थापाले युनाइटेड क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्द्धनसँगै विपद्का समयमा पनि सहयोग गर्दै आएको उल्लेख गरे। उनले भने, “विपद् व्यवस्थापन कोषमार्फत यस्ता सहयोगहरू निरन्तर जारी रहनेछन्।”

त्यस्तै, द्वितीय उपाध्यक्ष तथा विपद् व्यवस्थापन संयोजक सूर्य बहादुर बानियाँले क्लबले विगतदेखि नै विपद्का घटनामा तत्काल राहत प्रदान गर्दै आएको र आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रम विस्तार गरिने जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: