
पोखरा । सधैं शान्त र सुन्दर पोखरा, गत भदौ २४ को साँझ एउटा कहालीलाग्दो सपनाबाट गुज्रियो। दशैं तिहारको उमंग बोक्नुपर्ने समयमा, जेनजी आन्दोलनको नाममा सडकमा उत्रिएको अराजक समूहले पोखरालाई आगो, धुवाँ र लुटपाटको रणभूमिमा परिणत गर्यो।
सरकारी कार्यालय मात्र होइन, निजी घर, व्यवसाय र सर्वसाधारणका सपनाहरू समेत पलभरमै खरानी भए। पोखरा महानगरपालिकाले इन्जिनियर लक्ष्मीप्रसाद गौतमको संयोजकत्वमा गठन गरेको मूल्याङ्कन समितिले हालै सार्वजनिक गरेको प्रतिवेदनले त्यो दिनको क्रुरताको भयावह चित्र प्रस्तुत गरेको छ।
प्रतिवेदन अनुसार, निजी क्षेत्रमा मात्रै करिब २ अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। ४० भन्दा बढी संरचनामा फैलिएको आगोले करोडौंको सम्पत्ति नष्ट गर्यो र दुई जना निर्दोष नागरिकले ज्यानसमेत गुमाए।
क्षतिको सूची लामो र पीडादायी छ। न्यूरोडस्थित भाटभटेनी सुपरमार्केट एक्लै १ अर्ब ३० करोड रुपैयाँको क्षतिको चपेटामा पर्यो। लेकसाइडको प्रतिष्ठित होटल सरोवरले ३० करोडको क्षति बेहोर्नुपर्यो।
गण्डकी प्रदेशका मन्त्री विन्दुकुमार थापाको नयाँबजारस्थित कम्प्लेक्सदेखि उनका भाइ र छोराले सञ्चालन गरेका व्यापार(व्यवसायसम्म आगोले ध्वस्त बनायो, जसबाट करोडौंको क्षति भयो। पोखरा इभेन्ट सेन्टर, सिर्जनाचोक सुपरमार्केट, गुडविल होटल, बरपिपल रिसोर्ट, पूर्वसांसद राजीव पहारीको घरलगायत अनगिन्ती संरचनाहरूमाथि बर्बर आक्रमण भयो।
फेवा किनारका रमणीय क्याफे, होटल, फार्मेसीहरू पनि सुरक्षित रहेनन्। स्थानीय बासिन्दाका घर र सडकमा रहेका गाडीहरू समेत आगो र लुटपाटको शिकार बने। मेयर धनराज आचार्यदेखि सामान्य व्यापारीसम्मका घर र पसल जल्दा सारा पोखराले आफ्नै अंग जलिरहेको अनुभूति गर्यो। कतै आगोले खरानी त कतै लुटपाटले खाली बनाइएका कोठाहरू पीडितका आँखामा आँसु र ओठमा असहायता मात्र बाँकी छ।
इन्जिनियर गौतम भन्छन्, “हामीले क्षति भएको ठाउँमा गएर, पीडितसँग कुरा गर्दै, अनुमानित विवरण तयार पारेका हौँ। कतै क्षति कम देखिएको छ भने कतै अझ बढी पनि हुनसक्छ।” यो आँकडा केवल आर्थिक मात्र होइन, पोखराले भोगेको मानसिक र सामाजिक पीडाको एक सानो झल्को मात्र हो।
पोखरा अहिले पनि त्यो कालो दिनको धुवाँ र डरलाग्दो गन्ध सम्झिँदै छ। सहरले भोगेको त्यो घाउ अझै पनि ताजा छ।
