
काठमाडौं : लगातारको वर्षासँगै खसेको पहिरोका कारण बिहानदेखि अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वीराजमार्ग अन्तर्गतको मुग्लिन–नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।
धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङखोलामा खसेको पहिरो हटाइएपछि रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। साथै, चितवनको इच्छाकामना–५ स्थित तुइनखोला पुलमा खसेको पहिरोसमेत पन्छाइएपछि सडक आंशिक रूपमा सञ्चालनमा आएको हो।
यद्यपि, पहिरो पन्छाउने र सवारीसाधन पार गराउने कार्य अझै जारी रहेको र जुनसुकै बेला फेरि ठूलो पहिरो खस्ने जोखिम रहेकाले यात्रुहरूलाई अत्यधिक सावधानी अपनाउन आग्रह गरिएको छ।
पानी परिरहेकाले जमिन कमजोर भएको र ढुङ्गा–माटो झर्ने क्रम जारी रहेको हुँदा जोखिम यथावत रहेको प्रहरीले जनाएको छ।
