
कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा आगजनी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका व्यक्ति २२ वर्षीय संजोक थापा रहेका छन्।
उनी रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थायी बासिन्दा भई हाल पोखरा महानगरपालिका–७, राष्ट्रबैंकचोकमा बस्दै आएका थिए।
गत भदौ २३ र २४ गतेको तोडफोड र प्रदर्शनपश्चात असोज १२ गते राति, पोखरा महानगरपालिका–६ स्थित सहिद चोकमा रहेको मुख्यमन्त्रीको निवासमा आगजनी गरी थापा फरार भएको भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
थापा पक्राउ परेपछि अनुसन्धान गर्दै जाँदा उनले नेपाल राष्ट्र बैंकको कम्पाउन्ड अगाडि रहेको एनआईएमबी बैंकको एटीएम मेसिनमा ढुंगाले प्रहार गरी स्क्रिन तोडफोड गरी क्षति पुर्याएको समेत खुलेको डीएसपी बस्नेतले जानकारी दिए।
