
पोखरा । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कास्की जिल्लामा घाइते भएका ९२ जनालाई सरकारले घाइते परिचयपत्र वितरण गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै घाइतेहरूले आवश्यक कागजातसहित उपस्थित भई परिचयपत्र र भैपरी खर्च बुझ्न अनुरोध गरेको छ।
नेपाल सरकारको २०८२ असोज १२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार गृह मन्त्रालयबाट जेनजी आन्दोलन घाइते परिचयपत्र तयार भइसकेको र असोज २६ गतेदेखि वितरण सुरु गरिने जनाइएको छ।
प्रत्येक घाइतेलाई २० हजार भैपरी खर्च उपलब्ध गराइने
सूचनाका अनुसार आन्दोलनमा घाइते भई उपचार गराएका व्यक्तिहरूलाई तत्कालका लागि प्रतिव्यक्ति २० हजार भैपरी खर्च वितरण गरिनेछ। सो रकम उपलब्ध गराउन आवश्यक बजेट प्राप्त भइसकेको प्रशासन कार्यालयले जनाएको छ।
के-के चाहिन्छ कागजात ?
घाइतेहरूलाई निम्न कागजातसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा सम्पर्क गर्न आग्रह गरिएको छ। जसमा उपचार पूर्जी वा डिस्चार्ज कागजात, नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, दुई थान पासपोर्ट साइज फोटो र घाइतेकै नाममा रहेको बैंक खाताको चेकको प्रतिलिपि रहोको छ।
सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालद्वारा जारी सूचनामा भनिएको छ, परिचयपत्र वितरणको अभिलेखमा घाइतेको औंठाछाप अनिवार्य रहने भएकाले व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ।
तर, स्वास्थ्य कारणले उपस्थित हुन नसक्नेहरूका हकमा परिवारका सदस्यमार्फत जानकारी गराउन सकिने प्रावधान गरिएको छ। कार्यको समन्वयका लागि प्रशासकीय अधिकृत झविश्वर रेग्मीलाई सम्पर्क व्यक्ति तोकिएको छ।
रेग्मीलाई ९८५६०३७४८७ नम्बरमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

