
पोखरा। भदौ २४ गतेको आन्दोलन र तोडफोडका कारण रोकिएका सार्वजनिक सेवाहरू क्रमिक रूपमा सुचारु हुँदै गइरहेका छन्। यसैक्रममा जिल्ला प्रशासन कार्यालय कास्कीले राहदानी (पासपोर्ट) सेवा असोज २७ गते (सोमबार) देखि पुनः सुरु गर्ने भएको छ।
कार्यालयमा भएको क्षति उपकरण, सञ्चार प्रणाली तथा अन्य पूर्वाधारहरूको मर्मत कार्य जारी रहेको भए पनि प्रशासनले राहदानी सेवा संचालनमा ल्याउने निर्णय गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार, हाललाई कास्की जिल्लाभित्रका स्थानीय तहमा बसोबास गर्ने सेवाग्राहीहरूका लागि मात्र राहदानी सेवा उपलब्ध हुने छ। नयाँ राहदानी र नवीकरण दुवै प्रकारका सेवाहरू संचालनमा आउनेछन्।
राहदानी शुल्क भुक्तानीका लागि ConnectIPS वा NCHL जस्ता डिजिटल माध्यमहरू प्रयोग गर्न सेवाग्राहीलाई अनुरोध गरिएको छ।
कार्यालय भवनभित्रको बैंक काउन्टर आगजनीका कारण सञ्चालनमा नरहेकाले शुल्क भुक्तानीको लागि एन.आई.सी. एशिया बैंक, बिरौटा शाखामा निम्न विवरण प्रयोग गर्न अनुरोध गरिएको छ। जसमा कार्यालय कोड नं.: ३१४९२३९०२ राजस्व शीर्षक नं.: ११४२२७ रहेको छ ।
प्रशासनले राहदानी तयार भएपछि मात्र सेवाग्राहीहरूलाई कार्यालयमा उपस्थित हुन अनुरोध गरेको छ। “बायोमेट्रिक डेटा लिइसकेको, राहदानी तयार भएको र लिन आउन अनुरोध गरिएको” भन्ने सन्देश (SMS) प्राप्त भएपछि मात्र कार्यालयमा जान अनुरोध गरिएको छ।
