इजरायलमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन, श्रद्धाञ्जली अर्पण

302
0
Share:

काठमाडौं । इजरायलमा हमासको आक्रमणपछि दुई वर्षदेखि बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि भएपछि काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ। शोक, संवेदना र सम्मानको भावनासहित आयोजित दीप प्रज्वलन कार्यक्रममा जोशीको बलिदानप्रति गहिरो श्रद्धा व्यक्त गरिएको छ। सहभागीहरू उनका तस्बिर अँगाल्दै साहसको प्रतीक, विपिन अमर रहून्ू जस्ता नारा लगाइरहेका थिए।

शव यसै साता नेपाल ल्याइने तयारी

इजरायली सरकारले जोशीको मृत्यु पुष्टि गरेको दुई दिनपछि उनलाई अन्तिम श्रद्धाञ्जली दिन नेपाली समुदाय अघि बढेको हो। विपिन जोशीको पार्थिव शरीर यसै साता नेपाल ल्याइने अपेक्षा गरिएको छ, र उनको परिवार, साथीभाइ तथा सम्बन्धित निकाय अन्तिम तयारीमा जुटेका छन्।

विपिन जोशी इजरायलको कृषि अध्ययनका लागि सरकारी छात्रवृत्तिमा गएका युवाहरूको समूहमा परेका थिए। हमासको आक्रमणमा उनी बन्धक बनाईएका नौ नेपालीमध्ये एक थिए। उनको मृत्युले सम्पूर्ण राष्ट्रलाई स्तब्ध बनाएको छ।

उनको सम्झनामा आयोजित कार्यक्रममा सहभागीहरूले शिक्षा, शान्ति र मानवताको पक्षमा उभिनुपर्ने आवश्यकतामा जोड दिँदै राज्य र अन्तर्राष्ट्रिय समुदायबाट यस्ता घटनाको पुनरावृत्ति रोक्न कूटनीतिक पहल हुनुपर्ने माग गरे।

कमेन्ट गर्नुहोस्
Share: