पोखरामा प्लाष्टिकका फूल गुच्छामाथि रोक, तिहारमा देखियो स्थानीय फूलको रौनक

Share:

पोखरा । पोखरा महानगरपालिकामा प्लाष्टिकका फूल र मालाको बिक्री वितरणमा उल्लेखनीय कमी आएको छ। चार वर्षअघि महानगरले प्लाष्टिकजन्य फूलमालामाथि लगाएको प्रतिबन्ध यस वर्ष प्रभावकारी रूपमा कार्यान्वयनमा आएको देखिएको छ, जसको प्रत्यक्ष लाभ वातावरण संरक्षण र स्थानीय फूलको प्रवर्द्धनमा परेको छ।

महानगरको उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन समितिको टोलीले तिहारलाई लक्षित गर्दै विभिन्न १० वटा पसलमा गरेको अनुगमनका क्रममा अधिकांश पसलमा प्लाष्टिकका माला फेला परेनन्। केहीमा मात्र थोरै पुराना मालाहरू भेटिए पनि ती पनि विक्रेताहरूले नबेच्ने भनी थन्क्याएको बताएका छन्।

महानगरकी उपप्रमुख तथा अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा गरिएको अनुगमनले प्लाष्टिकमुक्त महानगर बनाउने अभियानमा उत्साहजनक सफलता मिलेको संकेत दिएको छ। उनले भनिन्, “महानगरले प्लाष्टिकका फूल-गुच्छा वितरणमा गरेको निर्णय राम्रोसँग लागू भएको छ। अटेर गर्नेहरूमाथि कानुनी कारबाहीसमेत भएको छ।”

अनुगमनको क्रममा करिब १०० थान प्लाष्टिक माला जफत गरिएको महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए। उनका अनुसार, “यस वर्ष बजारमा प्लाष्टिकका फूल र माला निकै कम मात्रामा देखिएका छन्, र तीमाथि कडाईका साथ रोक लगाइएको छ।”

महानगरले प्लाष्टिकको विकल्पका रूपमा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न किसान बजारमार्फत २५ स्थानमा फूल बिक्रीको व्यवस्था मिलाएको छ। साथै, किसानलाई फूल उत्पादनका लागि अनुदानसमेत दिइएको छ।

सहरी सौन्दर्य, वातावरणीय स्वच्छता र सांस्कृतिक मौलिकताको संरक्षणलाई ध्यानमा राखी महानगरले ‘वातावरण संरक्षण ऐन, २०७६’ को दफा १५(६) अनुसार प्लाष्टिकजन्य फूलमालाको बिक्री, वितरण तथा भण्डारण निषेध गरेको हो। सोही आधारमा नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै प्रतिबन्ध कार्यान्वयनमा ल्याइएको हो।

महानगरले नगरवासीहरूलाई पनि वातावरणमैत्री व्यवहार अपनाउन, प्लाष्टिकजन्य मालाको प्रयोग नगर्न र तिहारजस्ता चाडपर्वमा स्थानीय फूलको प्रयोग गर्न आह्वान गरेको छ।

यस निर्णयले पोखरामा एकातर्फ वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुर्‍याएको छ भने अर्कोतर्फ स्थानीय फूल उत्पादक किसानहरूको आम्दानी र उत्साहमा उल्लेखनीय वृद्धि भएको देखिएको छ।

कमेन्ट गर्नुहोस्
Share: