पोखरामा ३४औं राष्ट्रिय औद्योगिक व्यापार मेला र १३औं क्यान इन्फोटेकको तयारी तीव्र

Share:

पोखरा। पोखरा उद्योग वाणिज्य संघले यही आउँदो मंसिर १७ देखि २१ गतेसम्म आयोजना गर्न लागेको ३४औं राष्ट्रिय औद्योगिक व्यापार मेला–२०८२, पोखरा र १३औं क्यान इन्फोटेक-२०८२ को तयारी तीव्र गतिमा अघि बढाएको छ। संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक गोकर्ण कार्कीका अनुसार मेला पोखरा-९ स्थित प्रदर्शनी केन्द्रमा आयोजना गरिने भएको हो।

अध्यक्ष कार्कीका भनाइमा यसपटकको मेला स्वदेशी उत्पादन र सेवाको प्रवद्र्धन, बजार पहिचान, पर्यटन विस्तार, उत्पादक-उपभोक्ता सम्बन्ध सुदृढीकरण, कृषिजन्य र हस्तकलाका उत्पादनको बजारीकरण लगायतका उद्देश्यसहित समर्पित हुनेछ।

अध्यक्ष कार्कीले विगत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका ध्वंसात्मक गतिविधिले पीडित निजी क्षेत्रलाई मनोबल दिने, उद्योग-व्यवसायलाई पुनःलयमा फर्काउने र आम नागरिकको दुःख भुलाउने उद्देश्यका साथ यो मेला आयोजना गरिएको बताए।

“जेनजीको पवित्र आन्दोलनमा अवाञ्छित तत्वहरूले निजी क्षेत्रमा गरेको आक्रमणले मनोबल खस्काएको थियो,” उनले भने, “तर हामी हात बाँधेर बस्दैनौं। उद्योग-व्यवसायलाई पुनः लयमा ल्याउन र नागरिकमा आशा जगाउन यो मेला एउटा ‘उद्यम पुनर्जागरण अभियान’ बन्नेछ।”

उनका अनुसार यो मेला निजी क्षेत्रको एकता, शक्ति प्रदर्शन र ध्वंसात्मक प्रवृत्तिविरुद्धको सशक्त सन्देश दिने एक प्रकारको यज्ञ पनि हुनेछ। “ध्वंस भएको छ, तर हामी उठ्ने सामर्थ्य राख्छौं। कर्मबाट विचलित हुँदैनौं भन्ने सन्देश दिन यो मेला हाम्रो पुनित प्रयास हो,” उनले जोड दिए।

संघका उद्योगतर्फका उपाध्यक्ष तथा मेला प्रायोजक व्यवस्थापन उपसमिति संयोजक दीनेशचन्द्र बास्तोलाका अनुसार मेलाको तयारीमा उद्योग-व्यवसाय तथा प्रतिष्ठानहरूबाट सहयोग र सहभागिताको प्रतिवद्धता बढ्दै गएको छ। पोखरा महानगरपालिकाको संरक्षकत्वमा आयोजना हुने मेलाले व्यवसाय प्रवद्र्धनका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

संघकी महासचिव शोभा गौतमले भने, यसपटकको मेला मनोरञ्जनात्मकभन्दा बढी उद्यमशीलता विकासको थलोका रूपमा प्रस्तुत हुने बताइन्। “मेलामार्फत् स्वदेशी उत्पादनको निर्यात प्रवद्र्धन, आन्तरिक बजार सुदृढीकरण र आयात प्रतिस्थापनलाई प्रोत्साहन गर्दै गण्डकी प्रदेशको औद्योगिक र उद्यमशीलता क्षेत्रलाई सशक्त बनाउने हाम्रो लक्ष्य हो,” उनले भनिन्।

समयावधि घटाएर ५ दिनको बनाइएको यो मेलालाई व्यवस्थित, उद्देश्यपूर्ण र परिणाममुखी बनाउन संघले तयारीलाई अन्तिम रुप दिइरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: