अनमोल सहकारी संस्थाको १५औं स्थापना दिवसमा रक्तदान कार्यक्रम, भयो २८ युनिट रगत संकलन

Share:

पोखरा। पोखरा महानगरपालिका-१७, छोरेपाटनस्थित अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५औं स्थापना दिवसको अवसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा कुल २८ युनिट रगत संकलन गरिएको संस्थाका सचिव एकनारायण भण्डारीले जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल रेडक्रस सोसाइटी छोरेपाटन उपशाखाका सभापति हरि श्रेष्ठले पहिलो रक्तदाता शिवराज पौडेललाई ब्लड व्याग हस्तान्तरण गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गरे।

श्रेष्ठले कार्यक्रममा बोल्दै समाजमा रक्तदानजस्तो मानवीय कार्यले जीवन बचाउने अभियानलाई बल प्रदान गर्ने बताउँदै सहकारी संस्थाले सामाजिक उत्तरदायित्वका गतिविधि मार्फत उदाहरणीय भूमिका खेलेको उल्लेख गरे।

संस्थाको सामाजिक उत्तरदायित्वमा जोड

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठका साथै अनमोल सहकारीका अध्यक्ष खेमराज बराल, सचिव एकनारायण भण्डारी लगायतका वक्ताहरूले बोलेका थिए। वक्ताहरूले रक्तदानलाई “जीवनदानको पवित्र कार्य” भन्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाको समन्वयमा सम्पन्न गरिएको थियो। संस्थाले आफ्नो वार्षिकोत्सवलाई सामाजिक सेवा र मानवसेवामा समर्पित गर्दै रक्तदानमार्फत समाजप्रति योगदान दिने परम्परालाई निरन्तरता दिएको बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: