पोखरा-बागलुङ सडक खण्डमा खाल्डाखुल्डीले बढायो जोखिम, यात्रु र चालक दुवैलाई सास्ती

Share:

पोखरा। मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक खण्ड अहिले ठाउँ-ठाउँमा परेका खाल्डाखुल्डी र भासिएका सडकका कारण जोखिमपूर्ण बनेको छ। पर्यटकीय राजधानी पोखरालाई पश्चिम पहाडी जिल्लासँग जोड्ने यो प्रमुख सडक बिग्रिँदा यात्रु र सवारी चालकहरू दुबै सास्ती र जोखिममा परेका छन्।

पोखरा–बागलुङ मार्गमा चल्ने विद्युतीय माइक्रोका चालक डम्मर केसीका अनुसार हाल सडकको अवस्था अत्यन्तै दयनीय बनेको छ। “सहज रूपमा गाडी चलाउन सकिने अवस्था छैन, ठाउँ-ठाउँमा सडक भत्केको छ, कतै भासिएको छ, कतै ठूला खाल्डा परेका छन्,” केसीले भने।

उनका अनुसार सडकको अवस्था सुधार नगरे हिउँदमा धुलो र दुर्घटनाको समस्या झन् गम्भीर बन्नेछ।

कास्की-पर्वत खण्डमा समस्या बढी

विशेषगरी कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डी र भासिएको भाग धेरै रहेको सडक डिभिजन कार्यालय, पोखराका सब-इन्जिनियर लोकेश पौडेलले बताए।
“यसपालि वर्षायाममा धेरै ठाउँमा सडक भत्केको छ, त्यसको नियमित मर्मतसम्भारका लागि ठेक्का प्रक्रिया टुंगिसकेको छ,” उनले भने।

उनका अनुसार कास्कीको फेदीदेखि नयाँपुल र नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म दुई खण्डमा मर्मतसम्भारको काम हुने छ। सो कार्यको ठेक्का शिवालय निर्माण सेवाले पाएको र चाँडै काम प्रारम्भ गर्ने तयारी भइरहेको उनले बताए।

सब–इन्जिनियर पौडेलका अनुसार वर्षा, चाडपर्व र अन्य कारणले केही ढिलाइ भए पनि छिट्टै मर्मतको काम तीव्र गतिमा अघि बढाइने छ। तर, उनले भने, “मर्मतसम्भारका लागि बजेट सीमित भएकाले सबै ठाउँको सडक एकैचोटि बनाउन कठिन छ, तर उपलब्ध स्रोतले भ्याएसम्म काम समयमै सम्पन्न गरिन्छ।”

स्थानीयवासी र सवारी चालकहरूले सडकको दयनीय अवस्थाले दैनिक आवागमन, पर्यटकीय यात्रा र आपतकालीन सेवासमेत प्रभावित भएको गुनासो गरेका छन्। “यो सडक प्रदेशकै आर्थिक र पर्यटन नशा हो, तत्काल मर्मत नगरे गम्भीर दुर्घटनाको जोखिम बढ्नेछ,” उनीहरूले चेतावनी दिएका छन्।

कमेन्ट गर्नुहोस्
Share: