होटल मुनलाइट पोखराका सञ्चालक चित्रबहादुर भट्टराईको निधन

Share:

पोखरा। पोखराको पर्यटन क्षेत्रमा सक्रिय रहेर लामो समयदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएका होटल मुनलाइट लेकसाइडका सञ्चालक चित्रबहादुर भट्टराईको निधन भएको छ। भट्टराईलाई ट्रेकिङका क्रममा कास्कीको सिक्लेसमा अचानक हृदयघात भएको थियो।

उनलाई तत्काल हेलिकोप्टरमार्फत उद्धार गरी मंगलबार दिउँसो मणिपाल शिक्षण अस्पताल, पोखरा ल्याइए पनि उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ।

६१ वर्षका भट्टराई पोखराका प्रसिद्ध पर्यटन व्यवसायी रुद्रबहादुर भट्टराईका छोरामध्ये एक हुन्। उनी पोखराको पर्यटन क्षेत्रमा अनुशासन, सेवाभाव र व्यावसायिक इमानदारीका लागि परिचित व्यक्तित्व मानिन्थे।

स्व. भट्टराईका श्रीमती र दुई छोरा कञ्चन र कल्याण रहेका छन्। उनका दाजु नाताका पोखरा-६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईका अनुसार अन्त्येष्टि बुधबार बिहान सेती नदी शान्तिघाटमा गरिनेछ।

चित्रबहादुरका सहोदर भाइ पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गोपीबहादुर भट्टराई रहेका छन्। परिवार, नातेदार, पर्यटन व्यवसायी तथा पोखरा समाजका अगुवाहरूले उनको असामयिक निधनप्रति गहिरो दुस्ख व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: