
पोखरा । पोखरामा बिहीबारदेखि सुरु हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय इन्डुरो माउन्टेन बाइक प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ। आयोजक संस्था “डन टिल डस्क माउन्टेन बाइक कम्पनी” का अनुसार प्रतियोगिता आगामी कात्तिक २७ देखि २९ गतेसम्म पोखरा महानगरपालिका-१३ स्थित आर्बा-बिजयडाँडा क्षेत्रमा हुनेछ।
यो वर्षको प्रतियोगितामा जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमान, अमेरिका र नेपाल गरी ८ देशका ५० खेलाडी सहभागी हुनेछन्।प्रतियोगिताका रेस निर्देशक सुनिलचन्द्र शर्माका अनुसार १३ भन्दा बढी देशका खेलाडीले प्रारम्भिक रूपमा दर्ता गरे पनि हालैको जेनजी आन्दोलनका कारण केही देशका टोलीले सहभागिता रद्द गरेका छन्।
प्रतियोगिता समुन्द्री सतहबाट १,३६० मिटर उचाइमा रहेको आर्बा-बिजयडाँडा ट्र्याकमा सञ्चालन हुनेछ। सन् २०२० देखि सो क्षेत्रमा संरचना निर्माण र तयारी गर्दै आएको आयोजकले यसअघि २०८० र २०८१ सालमा पनि सफलतापूर्वक प्रतियोगिता सम्पन्न गरिसकेको छ।
प्रतियोगितामा जुनियर (१२-१८ वर्ष), महिला खुला (१८ वर्ष माथि), इलिट (२९ वर्ष माथि), मास्टर्स ‘क’ (३०-३९ वर्ष), मास्टर्स ‘ख’ (४०-४९ वर्ष) भेट्रान (५० वर्ष माथि) यी ६ विधामा प्रतिस्पर्धा हुनेछ। आयोजकका अनुसार यो प्रतियोगिताले न केवल माउन्टेन बाइक खेलको विकास र युवा सहभागिता बढाउने, तर पोखराको पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ।
रेस निर्देशक शर्माले भने, “पोखराको प्राकृतिक सुन्दरता र चुनौतीपूर्ण ट्रयाकले विश्वभरका बाइक प्रेमीहरूलाई आकर्षित गर्नेछ। यसले नेपाललाई माउन्टेन बाइकिङको विश्व मञ्चमा थप उचाइमा पुर्याउनेछ।”
