
पोखरा । पोखराको लोकप्रिय धार्मिक तथा पर्यटकीय गन्तव्य घार्मीमा यस वर्षको बालाचतुर्दशी पर्व भव्य रूपमा मनाइने तयारी तीव्र गरिएको छ। पोखरा महानगरपालिका-१९ घार्मीस्थित मणि क्षेत्रभित्र रहेको ओमकारेश्वर महादेव मन्दिर परिसर भक्तजनको उपस्थितिमा रंगिन बन्न लागेको हो। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलका अनुसार मंसिर ३ गते पर्ने पर्वलाई लक्षित गर्दै मन्दिर क्षेत्रमा व्यापक सरसफाइ, तोरण-ध्वजाले सजावट र व्यवस्थापनका कामहरू सुरु भइसकेका छन्।
स्थानीय घरबाट विधिपूर्वक पूजा-आजासहित निकालिने फुलको डोली बगैँचा, भजन-किर्तन र बाजागाजासहित परिक्रमा गराई मन्दिर पुर्याउने परम्परा यस वर्ष पनि विशेष आकर्षण हुने बताइएको छ। फुलको डोली बोकेपछि ‘मनोकामना पूरा हुने’ जनविश्वासले भक्तजनको उत्साह झनै बढाएको छ। सद्विज छरेर पितृ उद्धार हुने धार्मिक मान्यताअनुसार लामाचौर, बाटुलेचौर, हेम्जा, अर्मला, कुरेचौर, हरिपाउँ, पुरन्चौरलगायत क्षेत्रका भक्तजन ठूलो संख्यामा घार्मी आइपुग्ने तयारीमा छन्। विगतका वर्ष झैँ, पर्वको दिन बिहानैदेखि मन्दिर परिसरमा भीड बढ्ने स्थानीय प्रेमबहादुर जिसीले बताए।
पर्वमा विश्व हिन्दु महासंघ पोखरा-१९, भुमे मैदान भजन समूह तथा स्थानीय युवाहरूले दिनभर भजन-किर्तनमार्फत वातावरणलाई भक्तिमय बनाउन लागेका छन्। आमा समूहले भक्तजनका लागि पानी र प्रसादको व्यवस्थापन गर्दै स्वागतको तयारी पूरा गरेको छ। मन्दिरलाई पछिल्ला वर्षहरूमा विभिन्न व्यक्ति तथा संस्थाको सहयोगले अझ व्यवस्थित र नियमित पूजा-अर्चना हुने रुपमा विकास गरिएको समितिका कोषाध्यक्ष तेजेन्द्र पौडेलले जानकारी दिए।
मन्दिर नजिकैको आकर्षक घार्मी भ्यु टावरले यहाँ आउने पर्यटकलाई पोखराको मनमोहक दृश्य, अन्नपूर्ण हिमशृङ्खला र माछापुच्छ्रे हिमाल नजिकैबाट अवलोकन गर्ने अद्वितीय अनुभव प्रदान गर्दै आएको छ। मन्दिर स्थापना कालदेखि नै विशेष उत्साहका साथ मनाइँदै आएको बालाचतुर्दशी र महाशिवरात्री पर्व घार्मीलाई धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्र बनाउँदै आएको छ। यस वर्षको पर्वमा झन् बढी भक्तजन आकर्षित हुने अपेक्षा गरिएको छ।
