पोखरालाई खेल पर्यटनको केन्द्र बनाउँदै इन्ड्युरो २०२५ सम्पन्न

Share:

पोखरा। तेस्रो संस्करणको पोखरा इन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस उत्कट प्रतिस्पर्धासहित सम्पन्न भएको छ। डाउन टिल डस्कको आयोजनामा तथा पोखरा महानगरपालिका-१३ र कास्की जिल्ला साइक्लिङ संघको समन्वयमा सम्पन्न यो रेसले पोखरालाई पुनः अन्तर्राष्ट्रिय खेल पर्यटनको केन्द्रबिन्दुमा उभ्याएको छ।

तीन दिनसम्म चलेको रोमाञ्चक रेसका विभिन्न चरणहरू पोखरा-१३ को आर्बा विजयडाँडा क्षेत्रमा सम्पन्न भएका थिए। प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका थिए।

यसपटकको संस्करण विशेष बनाउने तत्व भनेको ८ देशका ४७ खेलाडीहरूको आकर्षक सहभागिता हो। नेपालसहित जर्मनी, सिंगापुर, अस्ट्रेलिया, युके, श्रीलंका, ओमान र अमेरिका-यी देशका बाइकर्सले ६ भिन्न-भिन्न विधामा कौशल प्रदर्शन गर्दै चुनौतीपूर्ण ट्रायलहरू पार गरेका थिए।

प्रतियोगिता अवधिभर आयोजनालाई सफल बनाउन सक्रिय साथ दिएका स्थानीय समूह, क्लब र राजनीतिक दलका प्रतिनिधिहरूलाई वडा अध्यक्ष किरण बरालले विशेष धन्यवाद व्यक्त गरेका छन्। उनले इन्ड्युरो रेसले पोखराको पर्यटन पहिचान थप मजबुत बनाउने, अन्तर्राष्ट्रिय खेलाडी आकर्षित गर्ने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

एड्भेन्चर, पर्यटन र खेलकुदको अद्वितीय संयोजन बनेको पोखरा इन्ड्युरो २०२५ सफलतापूर्वक सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: