
पोखरा। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माणाधीन मुग्लिङ-पोखरा सडक विस्तारको महत्वपूर्ण संरचना विजयपुर खोलाको पुल निर्माणले तीव्र गति लिएसँगै आजबाट केही दिन सवारी आवागमन प्रभावित हुने भएको छ। निर्माणको संवेदनशील चरण ‘गर्डर लन्चिङ’ कार्य सुरु हुने भएकाले सडक अस्थायी रूपमा बन्द गरिने आयोजनाले जनाएको छ।
आयोजना प्रमुख कृष्ण बहादुर कुँवरद्वारा जारी सूचनाअनुसार आजदेखि ११ गतेसम्म दैनिक दुई पटक गरी चार घण्टा सडक बन्द वा आंशिक रूपमा नियंत्रित गरिनेछ। आयोजनाको पश्चिम खण्डले एक सूचना जारी गर्दै निर्माणाधीन पुलमा ‘गर्डर लन्चिङ’ गर्नुपर्ने भएकाले आगामी ६ दिनसम्म निश्चित समयका लागि सडक बन्द गरिने जनाएको हो ।
आयोजना प्रमुख कृष्ण बहादुर कुँवरद्वारा जारी सूचना अनुसार मंसिर ६ गतेदेखि मंसिर ११ गतेसम्म दैनिक दुई चरणमा गरी चार घण्टा सडक बन्द वा आंशिक रूपमा प्रभावित हुनेछ । निर्माण कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म पोखरा देखि विजयपुर हुँदै तालचोक चल्ने सवारी साधनहरू रोकिनेछन् ।
यद्यपि, यात्रुहरूको चाप र अवस्था हेरेर प्रत्येक ३० मिनेटमा लाइनमा रहेका सवारीसाधनलाई पास गराउने गरी लचिलो व्यवस्थापन अपनाइने आयोजनाले प्रष्ट पारेको छ । सडक बन्द भएको समयमा यात्रु तथा चालकहरूलाई सहजता प्रदान गर्न आयोजनाले वैकल्पिक मार्गहरूको प्रयोग गर्न सुझाएको छ ।
जसअनुसार मोटरसाइकल, स्कुटर तथा साना चारपांग्रे सवारीसाधनहरूले बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे निस्कने भित्री बाटो प्रयोग गर्न सक्नेछन् । त्यसैगरी, बस, ट्रक जस्ता ठूला तथा गरुङ्गो सवारीसाधनहरूले भने पावरहाउस चोकबाट बाघमारा हुँदै बिरौटा निस्कने मार्ग प्रयोग गर्नुपर्नेछ ।
आयोजनाले यो समयावधिभर ट्राफिक व्यवस्थापनमा सहयोग गरिदिन जिल्ला प्रशासन कार्यालय कास्की, सुरक्षा निकाय तथा आम सर्वसाधारणमा अनुरोध गरेको छ । तोकिएको समयमा अत्यावश्यक काम परेका यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गरी वा समय तालिका ख्याल गरेर मात्र यात्रा गर्न आयोजनाले आग्रह गरेको छ ।
