पोखरामा मेरी सन्जीवनी गीतसङ्ग्रह लोकार्पण, २८ हजार बराबरका पुस्तक हस्तान्तरण

Share:

पोखरा । अनेसास पोर्चुगलकी कार्यसमिति सदस्य तथा गीतकार सजु पौडेल बरालको पहिलो गीतसङ्ग्रह ‘मेरी सञ्जीवनी’ आइतबार एक समारोहका बीच लोकार्पण गरिएको छ। पृथ्वीनारायण क्याम्पसको नेपाली विभागद्वारा आयोजना गरिएको कार्यक्रममा क्याम्पस प्रमुख प्रा.डा. हरिप्रसाद पाठकसहित साहित्य, शिक्षण तथा प्रकाशन क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा कृति सार्वजनिक गरिएको हो।

समारोहमा कृतिका स्रष्टा सजुसँगै विभागीय प्रमुख डा. यमनाथ तिमिल्सिना, पूर्व विभागीय प्रमुख प्रा.डा. कुसुमाकर न्यौपाने, कृतिका सम्पादक रमेश दाहाल, उप-प्राध्यापक गीताकुमारी पौडेल, प्रकाशक राजीव बराल तथा स्रष्टाकी आमा नारायणी पौडेलले संयुक्त रूपमा लोकार्पण विधि सम्पन्न गरे।

‘साधना र संवेदनाले जन्मेको कृति’

मुख्य अतिथि प्रा.डा. पाठकले क्याम्पसकी पूर्व छात्राले साधनाको यात्राबाट पुनः क्याम्पस फिर्ता आउनु गर्वको विषय भएको बताए। उनले पुस्तक विक्रीबाट उठ्ने रकम लोकसंस्कृति अनुसन्धानमा खर्च गर्ने सजुको घोषणालाई सार्थक र अनुकरणीय भन्दै प्रशंसा गरे।

पूर्व विभागीय प्रमुख प्रा.डा. न्यौपानेले सजुको सृजनाभित्र असल चेतना र संवेदनाको गहिरो प्रभाव देखिने बताएका थिए। क्याम्पस जीवनमै निडर छाप छोडेकी सजु भविष्यमा अझ अध्ययन, साधना र परिष्कारसहित अघि बढ्ने अपेक्षा राख्दै उनले अनेसासको साहित्यिक योगदानसमेत स्मरण गरे।

७१ गीत

उप-प्राध्यापक गीताकुमारी पौडेलले ‘मेरी सञ्जीवनी’मा समेटिएका ७१ गीतलाई ३ मुख्य भाव-प्रेम (२७), वियोगरपीडा (२८) र विविध (१६) मा विभाजन गरी कृतिलाई सशक्त बनाइएको व्याख्या गरिन्। समाजमा व्याप्त पितृसत्तात्मक संरचनालाई सजुले सिर्जनामा सडक-सत्यजस्तै उतारेको उनको टिप्पणी थियो।

विभागीय सदस्य डा. श्रीधर न्यौपानेले नेपाली विभागका विद्यार्थीसँगै अब विभाग असल स्रष्टा पाएको महसुस भएको बताए। कृतिका सम्पादक तथा अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालले स्रष्टालाई ‘स्रष्टा सम्मान’ अर्पण गर्दै पुस्तकलाई त्रुटिरहित बनाउन आफूसँग सक्दो मेहनत गरेको उल्लेख गरे। साथै, उनले आफूले सम्पादन तथा प्रकाशन गरेको ३ दर्जनभन्दा बढी कृति पिएन क्याम्पस पुस्तकालयलाई हस्तान्तरण गरे। तीमध्ये वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, होमनाथ सुवेदी, डा. डीआर उपाध्याय, लेखनाथ पोखरेल, विमला निरौला, शकुन ज्ञवाली, लक्ष्मी श्रेष्ठ, माया गुरुङ, हरिप्रसाद काफ्लेलगायतका विविध विधाका कृतिहरू रहेका छन्।

सजुको पुस्तक-उपहार

सजुले विभागीय पुस्तकालयलाई २८ हजार बराबरका पुस्तकहरू हस्तान्तरण गर्दै आफ्नो छोरो सजीव बरालको नवौँ जन्मदिन त्यही अवसरमा मनाइन्। परदेश पुगेपछि वियोग, जिम्मेवारी र मातृशक्तिको पीडालाई कलमले मलम लगाइदिएको बताउँदै उनले भनिन्, “परदेशमा व्यथा पोख्ने जिम्मेवार माध्यम भनेकै कलम हो।” लेखनयात्रामा आमाको गीतले बाटो देखाएको बताउँदै उनले विभागप्रति आभार व्यक्त गरिन्।

विभागीय प्रमुख डा. तिमिल्सिनाले सर्जनाको यात्रामा भावसँगै व्यञ्जनात्मक शक्तितर्फ ध्यान दिन सजुलाई सुझाव दिए। विभागीय सदस्य निर्मल सापकोटाले पुस्तकको मूल्य भए पनि ज्ञानको मूल्य नहुने उल्लेख गर्दै स्रष्टाद्वय सजु पौडेल बराल र सम्पादक रमेश दाहालले प्रदान गरेका पुस्तकहरूले विद्यार्थीलाई ठूलो लाभ हुने विश्वास व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
Share: