पोखरा भलिबल केन्द्रको ९औँ वर्षगाँठी उत्साहमय, महिलातर्फ लालीगुराँस र झिर हाउस फाइनलमा

Share:

पोखरा । पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता रोचक मोडमा पुगेको छ । महिलातर्फ आज सम्पन्न सेमिफाइनल खेलमा लालीगुराँस लामाचौर र झिर हाउस बागलुबले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि दौडमा आफ्नो स्थान सुरक्षित गरेका छन् । पोखरा महानगरपालिका-३ नदिपुरस्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको पहिलो सेमिफाइनलमा लालीगुराँस लामाचौरले वालिब भलिबल क्लबलाई २५-११, २५-१८ र २५-१६ को सोझो सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गर्‍यो ।

त्यस्तै, महिलातर्फको दोस्रो सेमिफाइनलमा झिर हाउस बागलुबले शान्ता माविलाई २५-१२, २५-१७ र २५-१६ ले हराउँदै उपाधिका लागि लालीगुराँससँगको बहुप्रतीक्षित भिडन्त सुनिश्चित गरेको छ । यसैबीच, पुरुषतर्फ लिग चरणका खेलहरु भइरहेको छन् । आजको प्रमुख आकर्षण बनेको ठकुरी समाज तनहुँ र पोखरा भलिबल प्रशिक्षण केन्द्रबीचको खेल २-२ सेटको बराबरीपछि ‘लाइट प्रोटेस्ट’ का कारण स्थगित गरिएको छ ।

स्थगित खेल भोलि बिहान ८ बजेबाट पुनः सुरु हुने संयोजक मनोज खड्काले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमिफाइनलबाट बाहिरिएका दुई टिमले २५/२५ हजार रुपैयाँ सान्त्वना पुरस्कार पाउनेछन् ।

महिलातर्फ विजेताले ६० हजार र उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । २०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्रले सामाजिक तथा खेलकुद क्षेत्रमा निरन्तर सक्रिय भूमिका खेल्दै आएको छ । पुरुष र महिला दुबैतर्फ ७-७ टोलीको सहभागिता रहेको यो प्रतियोगिता मंसिर ९ देखि सुरु भई १३ गतेसम्म सञ्चालन हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: