
पोखरा । जिल्ला अदालत कास्कीले ‘जेनजी’ आन्दोलनका क्रममा आगजनीबाट नष्ट भएका मिसिल तथा कागजात पुनःसंकलन गर्न एक महिना म्याद थप गरेको छ। अदालतले बुधबारदेखि लागू हुने गरी आगामी पुस १० गतेसम्मका लागि समय थप गरेको हो।
अदालत भवनमा भएको आगजनीले भौतिक संरचना मात्र नभई जारी मुद्दासँग सम्बन्धित मिसिल, फैसला कार्यान्वयनका निवेदन तथा सूचना–प्रविधि उपकरणमा समेत ठूलो क्षति पुगेपछि अदालतले पक्षको हातमा रहेका प्रमाणका आधारमा मिसिल पुनःखडा गर्ने प्रक्रिया सुरु गरेको हो।
अदालतका स्रेस्तेदार राजन खनालद्वारा जारी सूचना अनुसार म्याद थप सर्वोच्च अदालतले असोज ५ गते जारी गरेको ‘विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति तथा प्रमाणीकरण निर्देशिका, २०८२’ बमोजिम गरिएको हो। यसअघि अदालतले २४ असोजमा सूचना प्रकाशित गरी १० मंसिरसम्म कागजात बुझाउन समय दिएको थियो। तर पर्याप्त मात्रामा कागजात नआएपछि पुनः सूचना प्रकाशित गरिएको हो।
आवश्यक कागजात बुझाउन आग्रह
अदालतले मुद्दाका सम्पूर्ण पक्षकार, कानुन व्यवसायी तथा सरोकारवालालाई तारेख पर्चा, फिराद, प्रतिउत्तरपत्र, निवेदनपत्र, फैसला र आदेश लगायत आफ्नो विषयसँग सम्बन्धित सबै कागजात पुस १० भित्र अनिवार्य रुपमा पेश गर्न आग्रह गरेको छ। सर्वोच्चले निर्देशिकामा नष्ट कागजात बुझाउन ६० दिनको समय दिनुपर्ने व्यवस्था रहेको अदालतले स्मरण गराएको छ।
जेनजी आन्दोलनकै कारण तारेख गुज्रिएका, प्रतिउत्तर दिन नपाएकाहरू वा फैसला कार्यान्वयनमा हाजिर हुनुपर्ने भए पनि उपस्थित हुन नसकेका व्यक्तिहरूले पनि यसै अवधिभित्र अदालतमा उपस्थित भई आफ्नो कानुनी प्रक्रिया पूरा गर्न पाउनेछन्। अदालतले तोकिएको समयभित्र नआए कानुन बमोजिम कार्यवाही हुने चेतावनी दिएको छ।
कास्की अदालतले मिसिल पुनःस्थापना र मुद्दा प्रक्रिया सहज बनाउन सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको बताएको छ।
