
पोखरा । कास्की प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। गत शुक्रबार करीब १०:१५ बजे कास्कीको पोखरा-२१ कृष्णी मनकामना मन्दिर नजिक लागू औषध बिक्री-वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो पोखराको संयुक्त टोलीले गस्ती र चेकजाँच दौरान कारबाही गरेको हो।
ग १६ प १८४१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा सवार दुई जनाको साथबाट डाईजापाम २० एम्पुल, फेनिरागन २५ एम्पुल र ब्रुफिनुर्फिन २५ एम्पुल गरी जम्मा ७० एम्पुल लागू औषध बरामद गरिएको प्रहरीले जनाएको छ। साथै उनीहरूका साथबाट २ थान मोबाइल फोन समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा स्थायी बसोबास स्याङ्जा बिरुवा-२ भई हाल पोखरा-१७ बस्ने १८ वर्षिय दिपेश गुरुङ र ऐनबार बस्ने २६ वर्षिय सुनिल पौडेल रहेका छन् ।
यी दुवै जनालाई नियन्त्रणमा लिएपछि कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
