नेपाली कांग्रेसले महाधिवेशन मिति टुंगो लगाएपछि गण्डकीमा अन्योल, तालिका कसिलो, प्रश्न धेरै

Share:

पोखरा । लामो समयदेखिको रस्साकस्सी अन्त्य गर्दै नेपाली कांग्रेस केन्द्रीय समितिले अन्ततः महाधिवेशनको मिति घोषणा गरेको छ । पुस २६ देखि २८ सम्म केन्द्रिय महाधिवेशन गर्ने निर्णयसँगै तल्लो तहका अधिवेशनका मितिसहित विस्तृत तालिका सार्वजनिक भएको छ । तर निर्णय सार्वजनिक भएको केही घण्टामै प्रदेशदेखि जिल्लासम्मका नेताहरुले तालिकाप्रति गम्भीर आशंका व्यक्त गर्दै यसले महाधिवेशन ‘टार्ने संकेत’ दिएको टिप्पणी गर्न थालेका छन् ।

घोषित तालिका अनुसार एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा २१ पुस, एकभन्दा धेरै निर्वाचन क्षेत्र हुने जिल्लामा २२ पुस तथा प्रदेश स्तरीय अधिवेशन २३–२४ पुस तोकिएको छ । तर जिल्ला सभापति निर्वाचित हुन ५०५ भन्दा बढी मत आवश्यक पर्ने संवैधानिक ब्यवस्थाकै कारण जिल्लास्थरीय नेताहरु समयरेखा ‘अव्यवहारिक’ भएको बताइरहेका छन् ।

कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले पहिलो चरणमा कुनै उम्मेदवारले बहुमत नपाए दोस्रो चरण कहिले गर्ने भन्ने नै अस्पष्ट रहेको बताए । उनले भने, “दोस्रो चरण नठिकाइ प्रदेश अधिवेशनमा जान मिल्दैन । समयरेखा हेर्दा महाधिवेशन गर्नुपर्छ भन्ने भन्दा पनि ‘नगर्ने संकेत’ बढी देखिन्छ ।”

गोरखा कांग्रेस सभापति नन्दप्रसाद न्यौपाने पनि तालिका एकदमै दबाबपूर्ण र अव्यवहारिक देखिएको बताउँछन् । उनका अनुसार मतगणना नटुंगिँदै अर्को तहको चुनावमा पुग्ने कुरा नै असम्भव छ । ५०५ भन्दा बढी मत ल्याउनुपर्ने पदमा दोस्रो चरणका लागि छुट्टै समय अनिवार्य छ ।

बागलुङ कांग्रेस सभापति जित शेरचनले त झनै कठोर प्रतिक्रिया दिए । उनले भने, “हिमाली जिल्लाका मान्छे त बेंसी झरेका छन्, काठमाडौंबाट तालिका थोपरेर अधिवेशन हुन्छ ? क्रियाशील सदस्यता मात्र बाँड्न २ महिना लाग्छ । यो निर्णय बालसुलभ छ ।”

यसअघि नै गण्डकी कांग्रेसले मंसिरभित्रै महाधिवेशन टुंग्याउन माग गर्दै केन्द्रलाई पत्र पठाएको थियो । तर अब आएको तालिकाले अझै धेरै नेतामा ‘असन्तोष र आशंका’ थपिदिएको छ ।

गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा भने तालिका कठिन भए पनि समयभित्रै काम सम्पन्न गर्ने दाबी गर्छन् । उनले भने, “देशको विषम परिस्थिति र पार्टीको बाध्यता दुबैलाई हेर्दा तालिका एकदमै कसिलो छ । तर हामी हाई स्पिरिटमा लागे पूरा गर्न सक्छौं ।”

गण्डकीका अधिकांश जिल्लामा क्रियाशील सदस्यता नवीकरण टुंगिएको भए पनि केही जिल्लाले बुझाउन बाँकी रहेको उनले बताए ।कांग्रेसभित्र महाधिवेशनको मिति टुंगिँदा सामान्यतः उत्साह बढ्ने अपेक्षा थियो । तर गण्डकीका अधिकांश नेताले यसलाई ‘अव्यवहारिक’, ‘अतिद्रुत’ र ‘अनिश्चिततापूर्ण’ भनेका छन् । यसले महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्रै बहस, शंका र चुनौतीहरु अझ तीव्र हुँदै गएको संकेत दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: