
पोखरा । पोखरामा ३४औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औं क्यान इन्फोटेक-२०८२ भव्य रूपमा सुरु भएको छ। उद्घाटन समारोहमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले देशको आर्थिक अवस्था, निजी क्षेत्रको सुरक्षा र पोखराको विकासका सवालमा सरकारलाई गम्भीर हुन आग्रह गरेका छन्।
नेपाल मणिपाल अस्पताल टाइटल स्पोन्सर रहेको यस मेलाको स्वागत मन्तव्य राख्दै अध्यक्ष कार्कीले पछिल्ला अराजक गतिविधिले निजी क्षेत्र त्रसित बनेको बताए। देशमा जेनजी आन्दोलन र त्यसपछिका अराजक घटनाक्रमतर्फ इंकित गर्दै अध्यक्ष कार्कीले भने, “व्यावसायीको सम्पत्ति जलाइँदा र रोजगार दिने हातहरू कुँजिँदा राज्य मौन बस्न हुँदैन।
अपराधीमाथि कारबाही र शान्ति-सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म लगानीको वातावरण बन्दैन।” उनले देशमा काम गर्ने वातावरण नहुँदा हरेक वर्ष लाखौं युवा विदेशिन बाध्य भएको तितो यथार्थ समेत पोखे।
पोखराको ‘लाईफलाइन’ मानिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा अध्यक्षले स्पष्ट धारणा राखे। “विमानस्थल निर्माणमा अनियमितता भएको हो भने कारबाही होस्, तर यसै बहानामा अन्तर्राष्ट्रिय उडान रोकिनु हुँदैन, उडान अविलम्ब सञ्चालन हुनुपर्छ,” उनले भने। साथै, उनले सिद्धार्थ राजमार्ग, कोरोला-त्रिवेणी राजमार्ग र पोखरा-नवलपुर जोड्ने मार्गको दिगो सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराए।
गाँजा र घरेलु मदिराको ब्रान्डिङमा साथ
गण्डकी प्रदेश सरकारले गाँजा खेतीलाई वैधानिकता दिने र घरेलु मदिरालाई व्यवस्थित गर्ने नीतिको अध्यक्ष कार्कीले खुलेर प्रशंसा गरे। यो कदम दीर्घकालीन आर्थिक सम्भावना बोकेको उल्लेख गर्दै उनले यसमा निजी क्षेत्र सहकार्य गर्न तयार रहेको बताए। विगत ४ दशकदेखि अर्थतन्त्र चलायमान बनाउन मेला आयोजना गर्दै आएको संघले यसपटक भने मेलालाई ५ दिनमा सीमित गर्नुपरेको छ।
प्रदर्शनी केन्द्रको ३१ रोपनी क्षेत्रफल हाल हरित परियोजनाका कारण पूर्ण व्यवस्थित नभएकाले छोटो समयका लागि मेला गरिएको अध्यक्षले प्रष्ट्याए। उनले पोखरा महानगरले उक्त स्थललाई जोगाएर भविष्यमा पुनः मेला-महोत्सवका लागि योग्य बनाउने विश्वास व्यक्त गरे।
सरकारले थालेका केही आर्थिक सुधारका प्रयासलाई सकारात्मक भन्दै अध्यक्ष कार्कीले भने, “एक जना मन्त्रीको प्रयासले मात्र निजी क्षेत्र आश्वस्त हुँदैन, सिंगो मन्त्रिपरिषद् र मन्त्रालयहरूले साथ दिनुपर्छ।” उनले उद्योग दर्तादेखि खारेजीसम्मको प्रक्रिया सरल बनाउन, स्टार्टअपलाई प्रोत्साहन गर्न र विशेष आर्थिक क्षेत्र (SEZ) विस्तार गर्न सुझाए।
कार्यक्रममा अध्यक्ष कार्कीले आयोजना सफल पार्न सघाउने नेपाल उद्योग वाणिज्य महासंघ, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड लगायत ग्लोबल आइएमई बैंक, सोल्टी पानी, युनाइटेड अजोड इन्स्योरेन्स, गरिमा विकास बैंक, नेपाल टेलिकम र डाबर नेपाल जस्ता प्रायोजकहरूप्रति कृतज्ञता व्यक्त गरे।
पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन संघले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अध्यक्ष कार्कीले मंसिर २१ गतेसम्म चल्ने मेलालाई सफल पार्न सबै पोखरेलीलाई आग्रह गरे। उनले मन्तव्यको बिट मार्दै भने, “देश बनाउने शक्ति निजी क्षेत्रसँग छ। हामीलाई अवसर दिनुपर्छ, हतोत्साहित होइन।”
