पोखरामा आज गुञ्जिनेछन् सारङ्गीमा झलकमान र नारायण गोपालका धुन, महेन्द्रपुलमा विशेष साँझ

Share:

पोखरा । नेपाली सुगम संगीतका स्वर सम्राट नारायण गोपाल र लोक गाथाका सारथी झलकमान गन्धर्वको सम्झनामा आज पोखरामा विशेष सांगीतिक कार्यक्रम हुँदैछ। रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराको रजत जयन्ती २५ औं वर्षको अवसरमा ‘स्मृतिमा झलकमान र नारायण गोपाल साँझ’ आयोजना गरिएको हो।

झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका-९ को सहकार्यमा हुने यो कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको रेडियोका स्टेसन म्यानेजर सञ्जय कुमार मल्लले जानकारी दिए।

कार्यक्रम संयोजक राजाराम पौडेलका अनुसार, पोखराको महेन्द्रपुलस्थित फाल्चामा आज (बिहीबार) साँझ ४:३० बजेदेखि सांगीतिक माहोल सुरु हुनेछ। कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ।

के छ आकर्षण ?

यो कार्यक्रम अन्य सांगीतिक साँझभन्दा फरक हुनेछ। यहाँ रेकर्डेड गीत वा आधुनिक वाद्यवादन भन्दा पनि सारङ्गीको मौलिक धुनमा दुई महान् स्रष्टाहरुलाई सम्झिइनेछ। झलकमान गन्धर्व सारङ्गी पाठशालाका विद्यार्थीहरूले आफ्ना सारङ्गीको धुनमार्फत झलकमान र नारायण गोपालका कालजयी गीतहरू प्रस्तुत गर्नेछन्।

रेडियोले आफ्नो ‘१२ महिना १२ कार्यक्रम’ अभियान अन्तर्गत यो कार्यक्रम आयोजना गरेको हो। यसअघि रेडियोले वृद्धाश्रममा सहयोग, सरसफाइ, विद्यार्थीलाई पोसाक वितरण जस्ता सामाजिक कार्यहरू गर्दै आएको छ। २०५८ सालमा स्थापना भएको रेडियो अन्नपूर्णले पोखराको सञ्चार क्षेत्रमा विशिष्ट पहिचान बनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: