
पोखरा। पर्यटकीय राजधानी पोखरामा अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागतका लागि ‘२७ औं पोखरा सडक महोत्सव’ को भव्य तयारी सुरु भएको छ। रेस्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराले लेकसाइडको करिब साढे ३ किलोमिटर क्षेत्रलाई ‘खुल्ला रेस्टुरेन्ट’ र उत्सव स्थलको रूपमा बदल्दै महोत्सव आयोजना गर्न लागेको हो। बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले महोत्सवको तयारी तीव्र पारिएको जानकारी दिएको छ। महोत्सव यही पुष १३ गतेदेखि १७ गतेसम्म (डिसेम्बर अन्तिम साता) चल्नेछ।
‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ विगत लामो समयदेखि पोखराको ब्राण्ड बनिसकेको ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ यसपटक पनि महोत्सव आयोजना हुँदैछ। रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले भने,‘यो महोत्सवले पोखरालाई अंग्रेजी नयाँ वर्ष मनाउने प्रमुख गन्तव्यको रूपमा स्थापित गरेको छ। हामी आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरामा स्वागत गर्न आतुर छौं।’
के छन् यसपटकका विशेष आकर्षण ?
महोत्सवका संयोजक तथा रेवानका उपाध्यक्ष वसन्त गौतमका अनुसार आगन्तुकलाई भरपुर मनोरन्जन र स्वाद दिन विविध कार्यक्रम तय गरिएको छ। जसमा सांस्कृतिक उत्सवतर्फ विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा र झाँकी प्रदर्शन,स्वादको मेलाअन्तर्गत सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारहरूको लाइभ स्टल, सांगीतिक माहोलतर्फ चर्चित कलाकारहरूको साथमा लाइभ कन्सर्ट,रोमाञ्चक खेलकुदतर्फ फेवातालमा डुंगा दौड, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, तथा मःम र ससेज खाने रमाइलो प्रतिस्पर्धालगायत अन्य सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथ र बालबालिकाका लागि विभिन्न मनोरन्जनात्मक गतिविधि हुने जनाइएको छ।
महोत्सव केवल रमाइलोका लागि मात्र नभई स्थानीय अर्थतन्त्र चलायमान बनाउन केन्द्रित हुनेछ। रेवान पोखराका पूर्वअध्यक्ष नरेश भट्टराईका अनुसार स्थानीय हस्तकला, चित्रकला, मूर्तिकला र कृषि उपजहरूको प्रदर्शनीलाई प्राथमिकता दिइनेछ। साथै, महोत्सव अवधिभर पोखराको पर्यटन विकास, अवसर र चुनौतीबारे विज्ञहरूसँग अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन गरिनेछ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले भिडभाडको समयमा खानाको गुणस्तर खस्कने र मूल्य आकासिने गुनासो आउन नदिन आयोजकलाई सचेत गराए। जवाफमा आयोजकले गुणस्तर र मूल्यमा विशेष निगरानी राख्ने प्रतिबद्धता जनाएका छन्। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले यो महोत्सव रेवानको मात्र नभई सिंगो पोखराको साझा उत्सव भएको बताए।
महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि रहेको छ। बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक लिमिटेड छ भने सह-प्रायोजकहरूमा यति डिष्ट्रिलरी, बोटलर्स नेपाल (तराई) र दि नेपाल डिष्टिलरी प्रालि रहेका छन्। प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकार रहेका छन्। महासचिव बीरेन्द्र शेरचनका अनुसार म पानी, गृहलक्ष्मी ग्याँस, अन्नपूर्ण केबलकार र रेड बुल सहयोगी संस्थाका रूपमा जोडिएका छन्।
