स्मृतिमा झलकमान र नारायण गोपाल साँझ भव्य रूपमा सम्पन्न

Share:

पोखरा । रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराको रजत वर्षको उपलक्ष्यमा आयोजना गरिएको “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” कार्यक्रम पोखराको महेन्द्रपुलस्थित फल्चामा सांगीतिक माहोलका साथ भव्य रूपमा सम्पन्न भएको छ। रेडियो अन्नपूर्ण, झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका-९ को संयुक्त आयोजनामा भएको कार्यक्रमको उद्घाटन वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले संयुक्त रूपमा गरे।

१२ महिना १२ कार्यक्रम अभियान अन्तर्गत मंसिर महिनाको कार्यक्रममा, नेपाली संगीतका दुवै महान स्रष्टा मंसिर १९: स्वर सम्राट नारायण गोपाल मंसिर जनगायक झलकमान गन्धर्व को सम्झनामा विशेष सांगीतिक साँझ आयोजना गरिएको रेडियोका स्टेशन म्यानेजर सञ्जय कुमार मल्लले बताए। उनले झलकमान गन्धर्व सारङ्गी पाठशालाले सारङ्गी संरक्षणमा पुर्‍याउँदै आएको योगदानलाई सम्मानस्वरूप कार्यक्रममा विशेष स्थान दिइएको उल्लेख गरे।

सारङ्गी प्रतिभाद्वारा मनमोहक प्रस्तुति

कार्यक्रममा सारङ्गी पाठशालाका प्रतिभा अविरल, शैलेश, क्रिस, दिपेश, सागर, प्रताप, युनिश, संस्कार, रेवाज, सम्पूर्ण र आविष्कारले एकपछि अर्को प्रभावशाली प्रस्तुति दिए। “आमाले सोध्लिन् नी खोइ छोरा भन्लिन्…” गीतबाट सुरु गरिएको प्रस्तुति क्रमशः बढ्दै जाँदा दर्शकहरू तालमा रमाउने माहोल बनेको थियो। अन्त्यमा उनीहरूले पोखरेली कलाकार बुद्धि परियारको लोकप्रिय गीत “रेशम फिरिरी” प्रस्तुत गर्दै कार्यक्रमको रौनकता झनै बढाए।

मुख्य अतिथि वडाध्यक्ष मर्सानीले कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सारङ्गी पाठशालाका प्रतिभालाई झनै ठूलो मंच दिलाउने योजनाबारे बताए। गीतकार तथा विशिष्ट अतिथि तीर्थ श्रेष्ठले नारायण गोपाल र झलकमान गन्धर्वको सांगीतिक योगदानबारे विस्तृत चर्चा गर्दा दर्शकहरू झनै भावुक र उत्साहित बने।

कन्दरा व्याण्डका मुख्य भोकलिस्ट विवेक श्रेष्ठले कार्यक्रम सांगीतिक सन्देशले भरिएको भएकाले आफू खुसी भएको बताए। पाठशालाका प्रशिक्षक समिर गायकले यस्ता कार्यक्रमले प्रतिभा चिनाउने ठोस अवसर मिलेको भन्दै सन्तोष व्यक्त गरे।

कार्यक्रमलाई सफल बनाउन पोखरा महानगरपालिका वडा नं. ३, ११, १२, १३, १४ र २६ सहित पोखरा इन्टरनेट, परिचय एडभरटाइजिङ, पालिखे ढाका टोपी, एसके साउन्ड, रूपाकोट ज्योति सुनचाँदी पसल, सिटीवान टेलिभिजन, ओरियन्ट फोटो स्टुडियो, गन्धर्व नाटकघर, गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, समय नेपाल डटकम तथा नेवा मिसः पुचः कास्की लगायतले सहयोग गरेका थिए।

स्टेशन म्यानेजर सञ्जय कुमार मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन समाचार प्रमुख आर्जु विष्ट सल्यानीले गरिन् भने सञ्चालन राजाराम पौडेल र कञ्चन थापाले गरेका थिए। रेडियो अन्नपूर्णले यसअघि रजत वर्षअन्तर्गत वृद्धाश्रम सहयोग, सरसफाई कार्यक्रम, आगजनी प्रभावित प्रहरी कार्यालयलाई सामग्री सहयोग, कविता वाचन, सारङ्गी पाठशाला विद्यार्थीलाई पोशाक वितरण लगायतका सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू सम्पन्न गरिसकेको छ।

२०५८ साल वैशाख १२ गते स्थापित रेडियो अन्नपूर्णले २५ वर्षको यात्रामा सञ्चार क्षेत्रमा अलग पहिचान बनाउँदै आएको छ। कार्यक्रमले पोखराको सांगीतिक वातावरणमा नयाँ ऊर्जा भरेको सहभागीहरूको प्रतिक्रियामा बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: