लेकसाइडमा बढ्दो ट्राफिक चाप नियन्त्रणका लागि कडाइ : बस पार्किङ निषेध, एकतर्फी सवारी सञ्चालनको तयारी

Share:

पोखरा। पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा बढ्दो सवारी चापले पर्यटक र स्थानीय दुवैलाई परेको समस्या समाधान गर्न विभिन्न सरोकारवाला निकायहरूको संयुक्त पहल सुरु भएको छ। सामुदायिक सेवा केन्द्र बैदाम र सामुदायिक प्रहरी सेवा बैदामको संयोजनमा बसेको बहुपक्षीय छलफलले लेकसाइडको सडकमा बस पार्किङ पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ।

सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर बरालका अनुसार अब ठूला सवारी साधनहरूलाई पर्यटन बसपार्क, बाराही घाट र क्याम्पिनचोकमा मात्र पार्किङ गरिनेछ। भ्रमणमा आउने बस तथा भारतीय नम्बर प्लेटका सवारीहरूले सडकमै पार्किङ गर्ने चलन हटाइने र दीर्घकालीन समाधानका लागि कार्यदल गठन गरिने उनले बताए।

वडा नं. ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले लेकसाइडको मुख्य सडक ठूला सवारी साधनका कारण जाम हुने भएकाले वैकल्पिक पार्किङ क्षेत्र पहिचान गर्दै सडक किनार पार्किङ क्रमशः हटाइने जानकारी दिए।

वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवराज भट्टराईले अव्यवस्थित पार्किङका कारण दुर्घटना जोखिम बढेको भन्दै सडकमा पार्किङ सख्त निषेध गर्नुपर्ने बताए। उनले ट्राफिक संकेत बोर्ड थप आवश्यक रहेको पनि उल्लेख गरे।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजित कुमार देवकोटाले हलञ्चोकदेखि बाराहीचोकसम्मको सडकलाई पहिलो चरणमा एकतर्फी बनाउने, ठूला सवारीलाई केवल पर्यटक उठाउने-ओराल्ने कार्यमा सीमित गर्ने र मालवाहक सवारीका लागि निश्चित समय तोक्ने प्रस्ताव राखे।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नाट्टा गण्डकी प्रदेशकीउपाध्यक्ष संगिता पौडेल, फेवा ढुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरी, नागरिक समाजका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूले पनि सुव्यवस्थित पार्किङ र स्पष्ट ट्राफिक व्यवस्थापन नभएसम्म पर्यटकले सास्ती भोगिरहनुपर्ने बताए। केही वर्षअघि लागू गरिएको ‘नो भेइकल जोन’ स्थानीय विरोधका कारण रद्द भएको उल्लेख गर्दै उनीहरूले यसपटक दीर्घकालीन समाधानमा ध्यान दिन आग्रह गरे।

कमेन्ट गर्नुहोस्
Share: