
रञ्जन अधिकारी-पोखरा, १८ वैशाख / पोखरा उपमहानगरपालिका वडा नं. १६ लाई निरक्षर उन्मुलन तथा साक्षर वडा घोषणा गरिएको छ । साक्षर नेपाल अभियान अन्तर्गत स्थानीय नमुना बहुउद्देश्यीय सामुदायिक अध्ययन केन्द्रको आयोजनामा विहिबार पोखराका १८ वडा मध्ये पहिलो साक्षर वडाका रुपमा पोखरा १६ लाई घोषणा गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले सन् २०१५ सम्म नेपाललाई निरक्षर उन्मुलन राष्ट्र घोषणा गरिने अभियानमा यो उत्कृष्ट कार्य भएको उल्लेख गर्दै राष्ट्रका तर्फबाट आयोजकलाई सम्मान गरिने जनाए । उनले सभ्य र शिक्षित समाज निर्माणमा केन्द्रले छोटो समयमै ठूलो योगदान गरेकोमा प्रशंसा गर्दै अन्य वडाहरुले पनि यस्ता कार्यहरु गर्नुपर्ने बताए । ‘व्यक्ति शिक्षित भए कसैबाट ठगिदैंन । तर, यहाँ व्यक्ति मात्र होईन वडाबासीलाई नै शिक्षित बनाई सभ्य समाज निर्माणमा केन्द्रको ठूलो योगदान छ ।’ सहसचिव लम्सालले भने–‘यसरी नै सबै ठाउँमा पहलकदमी लिए मुलुक छिट्टै नै निरक्षर मुक्त राष्ट्र घोषणा बन्नेछ ।’
अनौपचारिक शिक्षा केन्द्रका निर्देशक बाबुराम पौडेलले गत वर्ष मुलुकमा ९ लाख साक्षर भएकोमा महिला साढे सात लाख र पुरुष डेढ लाख मात्र साक्षर भएको तथ्यांक प्रस्तुत गर्दै महिलासँग बसेर पढ्दा लाज मान्ने पुरुषहरु महिला भन्दा तल परिरहेको उल्लेख गरे । ‘पुरुषहरु पछि परेको अवस्था छ । यो स्थिति भयो भने पनि निरक्षर उन्मुलन गर्न सकिदैँन । यो अवस्था आउनुहुन्न ।’ पौडेलले भने ‘साक्षर नेपाल अभियानमा अनौपचारिक शिक्षा केन्द्रको महत्वपूर्ण भूमिका छ ।’
अनौपचारिक शिक्षा केन्द्रका उपनिर्देशक विष्णुप्रसाद मिश्रले ५१ लाख निरक्षर रहेको नेपालमा २०६९ मा साक्षर नेपालको अवधारणा अघि सारेपछि ३१ लाखमा घटेको जानकारी दिँदै आव २०७१÷७२ मा १४ लाखमा घट्ने अपेक्षा राखे ।
कास्कीका जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुईंटेलले नगरपालिकाका १८ वडा मध्ये पहिलो साक्षर वडा घोषणा गर्ने पोखरा १६ बासीहरु गौरवशाली नागरिक बनेको भन्दै आभार व्यक्त गरे । उनले कास्कीका सबै गाविस वडालाई निरक्षर उन्मूलन गर्ने अभियानमा आफ्नो साथ रहने बताए ।
काठमाण्डौं विश्वविद्यालयका डिन डा. टंकनाथ शर्माले यही पढेर हुर्केर आफू आज यो स्थानसम्म आईपुगेको भन्दै आफ्नो भूमि साक्षर वडा घोषणा हुँदा अत्यन्त हर्षित भएको बताए ।
नेपाली काँग्रेसकी सभासद् शारदा पौडेलले महिलाहरु शिक्षाकै कारण पछि परिरहेको बताउँदै साक्षर भएपछि कोहि कसैबाट ठगिनुपर्ने, दबिएर बस्नुपर्ने अवस्था नरहने बताईन् । उनले संविधान बन्न नसक्दा मुलुकमा अराजकता हाबी हुँदै आएको भन्दै माघ ८ गते नै संविधान जारी हुने दाबी गरिन् ।
पोखरा उपमहानगरपालिकाका सामाजिक शाखा अधिकृत ओमराज पौडेलले आगामी आव २०७१÷७२ भित्र नगरका सबै वडालाई साक्षर वडा घोषणा गर्ने लक्ष्य रहेको जानकारी दिए । उनले जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरी प्रत्येक महिना दुई वडाका दरले निरक्षर उन्मुलन वडा घोषणा गर्ने कार्ययोजना तयार भएको जानकारी दिए । विन्ध्यवासिनी उच्च माविका प्राचार्य खिमलाल शर्माले साक्षर वडा घोषणापछि शिक्षाको क्षेत्रमा यस वडा गौरवपूर्ण बनेको बताए ।
अध्ययन केन्द्रकी अध्यक्ष कमला शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार नारायणी तिमिल्सिनाले स्वागत तथा सचिव अधिवक्ता गीता पौडेलले कार्यक्रमको संचालन गरेकी थिईन् ।
हालसम्म पाल्पाको तानसेन नगरपालिका नेपालमै पहिलो साक्षर नगरपालिका घोषणा भईसकेको छ भने ८६ गाविस साक्षर गाविस बनेको छ । कास्कीमा निरक्षर संख्या सात हजार छ सय छन् । दुई वर्ष अघि पोखरा १६ मा चार सय ९५ जना निरक्षर रहेकोमा नमुना बहुउद्देश्यीय सामुदायिक अध्ययन केन्द्र स्थापना पछि ४० ओटा कक्षा संचालन गरेकोमा अहिले सबै साक्षर बनेको केन्द्रले बताएको छ ।
साक्षर वडा घोषणापूर्व स्थानीय विद्यालय, संघ संस्था, आमा समूहले सुन्दर फिड, लामाचौर र महेन्द्रगुफाबाट शिक्षित समाज सभ्य राष्ट्र, निरक्षर मुक्त देश बनाऔं, निरक्षर समाजको अभिषाप हो लगायतका नारा लेखिएका प्लेकार्ड सहित ¥याली निकाली कार्यक्रमस्थल विन्ध्यवासिनी उच्च मावि प्राङ्गण बाटुलेचौर पुगेका थिए ।
