
काठमाडौं । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ। आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयोजनका लागि मतदानस्थल पुनरावलोकन गर्न लागिएकाले आममतदातालाई आवश्यक जानकारी गराइएको छ।
आयोगले पुनरावलोकनका क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए हाल सञ्चालन भइरहेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा मिलाउन भनेको छ। सो कार्यक्रम यही मङ्सिर २६ गतेसम्म चल्नेछ।
नामावलीमा रहेको त्रुटि सच्याउने नाम हटाउने, दाबी विरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायक पर्ने अर्को मतदानस्थलमा नाम सार्नका लागि निवेदन दिनसक्ने सुविधा रहेको सूचनामा उल्लेख छ।
मतदाताले सम्बन्धित वडाभित्रकै अर्को मतदानस्थलमा आफ्नो नाम सार्न चाहेमा सम्बन्धित निर्वाचन कार्यालयमा गई वा आयोगको वेबसाइटमार्फत अनलाइन निवेदन दिन अनुरोध गरिएको छ।
जसमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन १०० वटा राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् ।
आयोगले निर्धारण गरेको समयसीमा (मंसिर २१ देखि २३ गते) भित्र ती दलहरूले दर्ता प्रक्रिया पूरा गरेका हुन् । आयोगका अनुसार आवेदन दिनेमा एकल तथा संयुक्त चुनाव चिह्न लिएका दलहरू छन् । प्राप्त निवेदनमाथि अध्ययन गरी मंसिर २६ गतेसम्म दल दर्ता स्वीकृत गरिने आयोगले जनाएको छ ।
आयोगको कार्यसूचीअनुसार दलहरूले अब पुस १३ र १४ गते समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ । पेस गरिएको सूचीमाथि आवश्यक जाँचबुझपछि माघ ४ गते प्रारम्भिक सूची सार्वजनिक गरिनेछ ।
त्यसपछि दाबी विरोध र छानबिनको प्रक्रिया टुंग्याएर माघ २० गते बन्दसूचीको अन्तिम नामावली प्रकाशन हुनेछ । २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना सांसद समानुपातिक निर्वाचन प्रणालीमार्फत र १६५ जना प्रत्यक्ष प्रणालीमार्फत निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।
