
काठमाडौं। अघिल्लो सिजनको पुछारमा रहेको टोलीले यसपटक उपाधि जित्ने सपना नजिक पुगेको छ। बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी लायन्सले पहिलो पटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल यात्रा तय गरेको हो। यो जितसँगै लुम्बिनीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँगको रोमाञ्चक भेट पक्का गरेको छ। एनपीएलको ‘ग्रान्ड फिनाले’ शनिबार हुनेछ।
लुम्बिनी लायन्सको फाइनल यात्रा कुनै फिल्मी कथाभन्दा कम छैन। पहिलो सिजनमा अंक तालिकाको सबैभन्दा पुछारमा रहेर लिग सकाएको लुम्बिनीले दोस्रो सिजनमा भने गजबको पुनरागमन गरेको छ।
एलिमिनेटरमा बलियो मानिएको काठमाडौँ गोर्खाजलाई ४ विकेटले पाखा लगाएर आएको लुम्बिनीले दोस्रो क्वालिफायरमा पनि आफ्नो लय कायमै राख्दै ऐतिहासिक फाइनल स्थान सुरक्षित गर्यो।
विराटनगरको दोहोरो पीडास् दुई मौकामा पनि चुक्यो
लिग चरणमा शानदार प्रदर्शन गरेको विराटनगर किंग्सका लागि भने ‘प्लेअफ’ दुर्भाग्यपूर्ण साबित भयो। लगातार दुईवटा क्वालिफायर खेल्ने मौका पाउँदा पनि विराटनगरले त्यसलाई सदुपयोग गर्न सकेन। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनको फराकिलो हार बेहोरेको विराटनगरले दोस्रो मौका (क्वालिफायर-२) मा पनि लय समात्न सकेन।
लिग चरणको उत्कृष्ट प्रदर्शनलाई नकआउट चरणमा निरन्तरता दिन नसक्दा विराटनगर उपाधि नजिक पुगेर पनि बाहिरिन बाध्य भयो। अब शनिबार हुने फाइनल खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमने-सामने हुनेछन्। सुदूरपश्चिमले पहिलो क्वालिफायरमै विराटनगरलाई हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ।
गत सिजनको पुछारको टोली लुम्बिनी र लगातार फाइनल पुगेको सुदूरपश्चिमबीचको उपाधि भिडन्त निकै रोचक हुने अपेक्षा गरिएको छ।
