
पोखरा । पोखरा क्रिकेट मैदानमा जारी ‘हिमालयन क्रिकेट एकेडेमी कप-२०८२’ यु-१६ अन्तर विद्यालय पुरुष टि-२० क्रिकेट प्रतियोगितामा सोमबार प्रतिभा सेकेण्डरी स्कुल र हिमालयन सेकेण्डरी स्कुलले शानदार जित हात पारेका छन् । प्रतियोगिता अन्तर्गत प्रतिभाका लागि साहबुद्धिन अन्सारीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे भने हिमालयनका आयुष पनेरुले घातक बलिङ गर्दै आफ्नो टोलीलाई जित दिलाए ।
सोमबार भएको पहिलो खेलमा प्रतिभा सेकेण्डरी स्कुलले नवीन सेकेण्डरी स्कुललाई फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नवीन माविले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३१ रनको योगफल तयार पारेको थियो । नवीनका लागि साउददिन अन्सारीले ५० बलमा ३६ रन र ऋषि प्रजापतिले २० बलमा १८ रन बनाए । बलिङतर्फ प्रतिभाका रेबित शर्मा र पुरन गुरुङले समान १–१ विकेट लिए ।
१३२ रनको लक्ष्य पछ्याएको प्रतिभाले १४.५ ओभरमै मात्र १ विकेट गुमाएर १३५ रन बनाउँदै जित हासिल गर्यो । प्रतिभाको जितमा साहबुद्धिन अन्सारीले उत्कृष्ट प्रदर्शन गर्दै ४९ बलमा अविजित ७२ रनको अर्धशतकीय पारी खेले । उनलाई दीक्षान्त अर्यालले ३१ बलमा ३३ रन बनाउँदै राम्रो साथ दिए । नवीनका सौरभ सिद्धिकीले १ विकेट लिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका प्रतिभाका साहबुद्धिन अन्सारी ‘म्यान अफ दी म्याच’ घोषित भए ।
दोस्रो खेलः आयुषको ५ विकेटसामु कुमुदिनी निरीह
दोस्रो खेलमा हिमालयन सेकेण्डरी स्कुलले कुमुदिनी होम्समाथि सहज जित निकाल्यो । टस जितेर ब्याटिङ रोजेको कुमुदिनी होम्स हिमालयनको कसिलो बलिङसामु ५८ रनमै अलआउट भयो । कुमुदिनीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ५८ रन मात्र बनाउन सक्यो । उसका लागि सिद्धार्थ रावतले १७ र रविन्स पुनले १३ रन बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन् । कुमुदिनीलाई सस्तैमा समेट्न हिमालयनका बलर आयुष पनेरुले घातक बलिङ गरे ।
उनले ४ ओभरमा १ मेडन राख्दै मात्र ८ रन खर्चेर ५ विकेट लिए । ५९ रनको सामान्य लक्ष्य हिमालयनले १५.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । हिमालयनका शिवम श्रेष्ठले ५६ बलमा २० रन र आयुष पनेरुले १५ बलमा १० रन बनाए । बलिङतर्फ कुमुदिनीका सिद्धार्थ रावतले २ विकेट लिए ।
बलिङ र ब्याटिङ दुवैमा योगदान दिएका हिमालयनका आयुष पनेरु खेलको ‘म्यान अफ दी म्याच’ चुनिए । प्रतियोगिता अन्तर्गत पुष २ गते मंगलबार दुई खेल हुनेछन् । पहिलो खेल लभिन सेकेण्डरी स्कुल र टप्स सेकेण्डरी स्कुलबीच हुनेछ भने दोस्रो खेल डायमण्ड र ग्लोबल स्कुलबीच हुने आयोजकले जनाएको छ ।
