जाँचबुझ आयोगले अर्को साता ओली र लेखकसँग बयान लिने

Share:

कामाडौं । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको विध्वंश र मानवीय हताहतिबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आगामी साता उच्च राजनीतिक नेतृत्वलाई बयान लिने भएका छ । जाँचबुझ आयोगको म्याद सकिन लागेको अवस्थामा आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर म्याद थपका लागि आग्रह गरेको छ ।

त्यसक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिन लागिएको बताएका छन् ।

आयोगले सुरक्षा निकायका प्रमुखहरुसँग पनि बयान लिइसकेकाले अब त्यसबेला सत्तामा रहेका राजनीतिक दलका नेताहरूसँग बयान लिने तयारी गरेको कार्कीले बताए ।

हालसम्म आयोगले गरेका कामबारे ब्रिफिङका क्रममा कार्कीले प्रशासनिक र सुरक्षा निकायतर्फका सबैको बयान सकिएको बताए । अब राजनीतिक तहका उच्च नेताहरूको बयान लिएर प्रतिवेदन लेखनमा केन्द्रित हुने उनले बताए ।

आगामी आइतबारदेखि राजनीतिक नेतालाई बयानका लागि बोलाउने तयारी भएको उनले जानकारी दिए । कार्कीले आयोगको नयाँ कार्यादेशअनुसार समय नपुग्ने भएकाले म्याद थप गर्नेबारे पनि कुरा गरेका छन् ।

ओली र लेखकसहितको बयान सक्दा आयोगको समयावधि सकिने भएकाले प्रतिवेदन लेखनलाई समय चाहिने कार्कीले बताए । जेन-जीसँगको सम्झौताअनुसारको क्षेत्राधिकारबारे थप काम गर्नुपर्ने भएकाले म्याद थप गर्न उनले प्रधानमन्त्रीलाई भनेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: