
पोखरा । कास्कीको लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सवले उद्योग, कृषि र संस्कृतिलाई एउटै मञ्चमा जोड्दै फरक र सन्देशमूलक कार्यक्रम प्रस्तुत गर्न थालेको छ। महोत्सवलाई परिष्कृत स्वरूप दिँदै यस वर्ष पहिलो पटक स्टेज कार्यक्रममार्फत उद्योगी, नीति निर्माता र उपभोक्ताबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरिएको छ।
महोत्सवको छैटौँ दिन मंगलबार आयोजित उद्योग बहस कार्यक्रमले उद्योग क्षेत्रका सरोकारवालालाई एउटै थलोमा भेला गराउँदै अनुभव साटासाट, चुनौती र सम्भावनामाथि खुला छलफलको अवसर प्रदान गर्यो। प्रारम्भमा सुन्तला उत्पादन र बजारीकरण प्रवद्र्धनका लागि सुरु गरिएको लेखनाथ महोत्सव समयक्रमसँगै स्थानीय संस्कृति, कला, कृषि र उद्योग प्रवद्र्धनको साझा प्लेटफर्मका रूपमा स्थापित हुँदै आएको छ।
उद्योग बहस कार्यक्रममा विभिन्न क्षेत्रका उद्योगीहरूले आफ्ना व्यवसायिक यात्रा, संघर्ष र सफलताका प्रेरणादायी कथा प्रस्तुत गरे। कर्माचार्य ग्रुपका विक्रम कर्माचार्यले व्यवसायिक परिवारमा हुर्किएको अनुभव सुनाउँदै सानै उमेरदेखि उद्यमशीलताप्रति आकर्षित भएको बताए। १३–१४ वर्षकै उमेरमा टुथपेस्ट, मेची चिया, मायालु र सोल्टी साबुनजस्ता नेपाली उत्पादन बिक्री गरेको अनुभव सम्झिँदै उनले खुला सीमाका कारण स्वदेशी उद्योगमा परेको प्रभावका बारेमा धारणा राखे। त्यसपछि नेपाली उत्पादनलाई ब्रान्डका रूपमा स्थापित गर्दै विज्ञापनमार्फत अघि बढ्ने रणनीति अपनाएको उनले बताए।
त्यस्तै, दिप आइसक्रिमकी सञ्चालक पम्फा देवकोटाले ‘कर्ममा विश्वास’लाई आफ्नो व्यवसायिक यात्राको मूल मन्त्रका रूपमा प्रस्तुत गरिन्। निरन्तर मेहनत, आत्मविश्वास र कर्मचारीको साथले व्यवसाय विस्तार सम्भव भएको बताउँदै उनले संघर्षका बीच हासिल गरेका सफलताका अनुभव साझा गरिन्।
मनकामना प्लाइउड कम्पनीका सञ्चालक नारायण प्रसाद वास्तोलाले सानो समिलबाट सुरु गरेको यात्रा प्लाइउड उद्योगसम्म आइपुग्दा अनेक चुनौती झेल्नुपरेको बताए। विशेष गरी वन पैदावारसम्बन्धी स्पष्ट कानुनको अभावले उद्योग सञ्चालनमा कठिनाइ आएको स्मरण गर्दै उनले निरन्तर प्रयास र धैर्यले व्यवसायलाई टिकाइराखेको अनुभव सुनाए।
कार्यक्रममा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका उद्योग महाशाखा प्रमुख महराज ढकालले उद्योग प्रवद्र्धनका लागि अनुदानको सीमा पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याए। डिपिआर तयारीमै ठूलो खर्च लाग्दा धेरै योजना अलपत्र पर्ने अवस्था आएको उल्लेख गर्दै अनुदानलाई व्यवहारिक दायराभित्र ल्याउने प्रयास भइरहेको जानकारी दिए। प्रदेशका गौरवका औद्योगिक क्षेत्रको विकासका लागि सरकारी निकाय, निजी क्षेत्र र समुदायबीच सहकार्य अपरिहार्य रहेको उनले जोड दिए।
स्थानीय बजारलाई चलायमान बनाउँदै साना तथा मझौला व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना गरिएको लेखनाथ महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता देखिएको छ। आयोजकका अनुसार छैटौँ दिन मंगलबार मात्रै करिब २५ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन्। दैनिक करिब १ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भइरहेको महोत्सव प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिए। स्थानीय उत्पादन, उद्योग र संस्कृतिको प्रवद्र्धनमा लेखनाथ महोत्सवले महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरूको भनाइ छ।
