
पोखरा। रोटरी क्लब अफ पोखरा न्यूरोडले पोखरा महानगरपालिका-८ स्थित आरबा बिजयी माध्यमिक विद्यालयका विद्यार्थीहरूको शैक्षिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक थान कम्प्युटर तथा ७५ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ ।
शिक्षालाई प्रविधिमैत्री बनाउँदै विद्यार्थीहरूको पठन-पाठनलाई थप प्रभावकारी बनाउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको क्लबले जनाएको छ ।
कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक पद्मावती अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवसागर बराल तथा वडा प्रतिनिधि रजनी परियारले रोटरी क्लबप्रति आभार व्यक्त गर्दै यस सहयोगले विद्यालयको शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
क्लबका प्रेसिडेन्ट इलेक्ट राजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष दिपेन्द्र शर्माले रोटरी क्लबले शिक्षा र स्वास्थ्यसँगै ग्रामीण क्षेत्रका गृहिणीहरूका लागि वितरण गरिएको विद्युतीय चुलो कार्यक्रम प्रभावकारी बन्दै गएको जानकारी गराए ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू सुभाष सिङ्देल, अब्रहम खान, टुबराज बास्तोला र पुष्पकमल पौडेललगायतले शिक्षा, स्वास्थ्य तथा समुदाय विकासका क्षेत्रमा रोटरी क्लबले गर्दै आएको योगदानको चर्चा गर्दै आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा क्लबका सदस्यहरू, विद्यालय परिवार तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
क्लबका अध्यक्ष अमृत बास्तोलाले आगामी दिनमा सामुदायिक विद्यालयहरूमा शैक्षिक सामग्री वितरण कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने जानकारी दिए । क्लबको स्थापना दिवसको अवसरमा आयोजना गरिएको यस कार्यक्रमले क्लब सदस्यहरूलाई थप उत्साह र हौसला प्रदान गरेको उनको भनाइ थियो ।


