
पोखरा । पुसको चिसो मौसमलाई बेवास्ता गर्दै लेखनाथमा जारी महोत्सवमा बिहीबार बिहानैदेखि दर्शकहरूको उल्लेखनीय भीड देखिएको छ। मध्यान्हपछि मौसम खुलेसँगै दर्शक आगमन झनै बढेपछि महोत्सव स्थल दर्शकले खचाखच भरिएको थियो।
दर्शकको अत्यधिक चाप व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे परेको थियो। भीड व्यवस्थापनका लागि थप टिकट काउन्टरको व्यवस्था गरिएको थियो भने बाहिर निस्कने दर्शकहरूका लागि आपतकालीन गेटसमेत खोलिएको थियो।
महोत्सवको आठौँ दिन क्रिसमसको सार्वजनिक बिदा परेकाले अभिभावकहरूले आफ्ना बालबालिकासहित महोत्सव अवलोकन गर्न आएका कारण अन्य दिनको तुलनामा बिहीबार दर्शक संख्या करिब दोब्बरले वृद्धि भएको आयोजकको दाबी छ।
विद्यालयस्तरीय प्रस्तुतिअन्तर्गत लिटल फ्लावर एजुकेशनल सेकेन्डरी स्कुल, जुनियर सिटिजन्स एकेडेमी, लिटल गार्डेन मोन्टेसरी तथा शिलशिला स्कुलका विद्यार्थीहरूको प्रस्तुतिले महोत्सव स्थललाई थप जीवन्त बनाएको थियो। साथै जातजातिको भेषभूषा प्रदर्शनतर्फ भण्डारढिक नेवाः खलको प्रस्तुति आकर्षणको केन्द्र बन्यो भने महिलाको सम्मानस्वरूप आयोजना गरिएको रतौली कार्यक्रममा खाष्टेताल बाराही महिला समूहले प्रस्तुति दिएको थियो।
पुस ३ गतेदेखि सुरु भएको महोत्सवको आठौँ दिन बिहीबार मात्र करिब १ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको स्टलस्तरीय सर्वेक्षणले देखाएको छ। हालसम्म कुल कारोबार ७ करोड ८० लाख रुपैयाँ नाघेको छ। दर्शकतर्फ बिहीबार मात्र ३५ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् भने अहिलेसम्म २ लाख २५ हजारभन्दा बढी दर्शक महोत्सव स्थल पुगिसकेको महोत्सव प्रचार–प्रसार उपसमिति संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिए।
मनोरञ्जनात्मक कार्यक्रमतर्फ आठौँ दिन शिव हमाल, राजन कार्की, परशुराम अधिकारी, सपना गाहामगर, नविना सुवेदी र भूमिका गिरीले प्रस्तुति दिएका थिए। त्यस्तै जानुका पौडेल (प्याकुली) र निरु खड्काको प्रस्तुति दर्शकले रुचाएका थिए। बेलुकीको कन्सर्टमा गायक ओम गुरुङ, ¥यापर माइला र यम नेपालीको दमदार प्रस्तुतिले स्टेज तताएको थियो।
दर्शकको उत्साह, कलाकारको आकर्षक प्रस्तुति र बढ्दो आर्थिक कारोबारसँगै लेखनाथ महोत्सव थप सफलतातर्फ अग्रसर देखिएको छ।
