
पोखरा महानगरपालिका-लेखनाथस्थित तालचोकमा पुस ३ गतेदेखि सञ्चालन हुँदै आएको २१ औं लेखनाथ महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ । महोत्सव अवधिभर १० करोड रुपैयाँभन्दा बढी आर्थिक कारोबार भएको र ३ लाख १० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेको आयोजक समितिले जनाएको छ । ‘महोत्सवको पनि महोत्सव’ का रूपमा परिचित लेखनाथ महोत्सव सोमबार पुस १४ गते पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यमा औपचारिक रूपमा समापन हुँदैछ ।
यस महोत्सवले यस क्षेत्रको सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । यस वर्ष मनोरञ्जनसँगै साहित्य, संस्कृति, कृषि, प्रविधि र शिक्षा क्षेत्रलाई समेट्ने विविध कार्यक्रमहरू सञ्चालन गरिएका थिए ।
महोत्सव अवधिभर साहित्यिक गोष्ठी, महिला विशेष कार्यक्रम, विद्यालयस्तरीय प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि तथा शैक्षिक प्रदर्शनी, हस्तकला तथा स्थानीय उत्पादन प्रदर्शनी दर्शकका प्रमुख आकर्षण बने ।
विभिन्न जातजातिका लोपोन्मुख रीतिरिवाज, चालचलन र सांस्कृतिक पहिचान झल्काउने नृत्य तथा सांस्कृतिक प्रस्तुतिले दर्शकको मन जितेको थियो । साथै देशभरबाट आएका ख्यातिप्राप्त हास्यव्यङ्ग्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी कार्यक्रम, लाइभ म्युजिक कन्सर्ट, बाल उद्यान तथा खाना महोत्सवले महोत्सवलाई थप जीवन्त बनाएको थियो ।
विशेषगरी स्थानीय परिकार तथा कृषि उत्पादनको प्रवद्र्धनले स्थानीय व्यवसायी र कृषकहरूलाई प्रत्यक्ष लाभ पुगेको आयोजकको भनाइ छ । महोत्सवकी मूल संयोजक अध्यक्ष जानुका पराजुली अधिकारीका अनुसार, २१ औं संस्करणको लेखनाथ महोत्सवले यस क्षेत्रको पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन सफल भएको छ । उनले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक र विकासमुखी कार्यक्रमलाई निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् ।
महोत्सवका संयोजक ध्रुवबाबु भट्टराईले अपेक्षाभन्दा बढी दर्शक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको दाबी गर्दै, महोत्सवले पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र आर्थिक चलायमानता बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनका अनुसार, एक दिनमै २२ हजार दर्शकले महोत्सव अवलोकन गरेका थिए भने करिब ९० लाख रुपैयाँको आर्थिक कारोबार भएको थियो ।
समापन समारोहमा विभिन्न संघसंस्था, कलाकार, स्वयंसेवक, प्रायोजक तथा सहयोगीलाई सम्मान गरिने आयोजक समितिले जनाएको छ । सफल आयोजनाका लागि स्थानीयबासी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सबै सहयोगीप्रति आयोजकले आभार व्यक्त गरेका छन् ।
