
पोखरा। पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउसमा अवस्थित जनता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन भएको छ। स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष निरन्तर रूपमा आयोजना हुँदै आएको रक्तदान कार्यक्रम यस वर्ष पनि भव्य रूपमा सम्पन्न गरिएको हो। कार्यक्रमको उद्घाटन गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारीले सहकारीका उपाध्यक्ष सनबहादुर गुरुङलाई बल्ड ब्याग हस्तान्तरण गर्दै पहिलो रक्तदाताका रूपमा रक्तदान गरेर गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिवारीले “रक्तदान जीवनदान हो” भन्दै कास्की जिल्लामा रगतको अभाव हुन नदिन सहकारीले नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्नु अत्यन्तै सराहनीय रहेको बताए। उनले साविक लेखनाथ क्षेत्रमा वि.सं. २०३९ सालमा लामासुहाराबाट सुरु भएको रक्तदान अभियान आज विशाल अभियानका रूपमा विस्तार भएको उल्लेख गर्दै यस्ता सामाजिक कार्य दीर्घकालसम्म प्रेरणादायी रहने धारणा व्यक्त गरे। सहकारीका अध्यक्ष भरत ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष विश्वमोहन पौडेलले सहकारी स्थापना भएदेखि नै रक्तदान कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी गराउँदै निःस्वार्थ रूपमा रक्तदान गर्न सबै सदस्यलाई आग्रह गरे।
कार्यक्रममा वरिष्ठ सल्लाहकार तथा पूर्व अध्यक्ष शोभामोहन पौडेल, कूलबहादुर रानाभाट, निर्वतमान अध्यक्ष विश्वराज लामिछाने, रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञावाली, कोषाध्यक्ष दयाराज भण्डारी, सदस्य पदमराज पौडेललगायतले सहकारीका सामाजिक तथा प्रगतिमूलक गतिविधिबारे आफ्ना धारणा राखेका थिए। कार्यक्रमको धन्यवाद ज्ञापन उपाध्यक्ष सनबहादुर गुरुङले गरेका थिए।
नेपाल रेडक्रस सोसाइटी पोखरा–कास्कीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। यसै अवसरमा दुईदिवसीय कार्यक्रमअन्तर्गत वडा प्रहरी कार्यालय पोखरा-३० लाई कार्यालय प्रयोजनका लागि एक थान दराज, शान्ति टोल विकास संस्था पोखरा–३० खुदीलाई सरसफाइका लागि डस्टबिन तथा साझा सांस्कृतिक समूह पोखरा-३२ र जेष्ठ नागरिक दिवा सेवा साझा बजारलाई नगद रु. ११,१११ समूहका अध्यक्ष शिवराज ढुंगानालाई हस्तान्तरण गरिएको थियो।
त्यस्तै, कविशिरोमणि लेखनाथ पौडेलको १४२औँ जन्मजयन्तीको अवसरमा लेखनाथ पत्रकार मञ्चद्वारा प्रदान गरिने पुरस्कारबाट आदर्श समाज राष्ट्रिय दैनिक का संवाददाता पत्रकार कविराज खनाललाई सम्मानसमेत गरिएको छ। सामाजिक सेवा, सहयोग र सम्मानलाई एकैसाथ समेट्दै जनता सहकारीले आफ्नो वार्षिकोत्सवलाई उदाहरणीय बनाएको स्थानीयवासीहरूको प्रतिक्रिया रहेको छ।
