गण्डकीमा प्रगतिशील कविताको स्वर सशक्त बन्दै: ८ जिल्लाका कविहरूको सशक्त प्रस्तुति

Share:

पोखरा । प्रगतिशील लेखक सङ्घ (प्रलेस) गण्डकी प्रदेशले शनिबार पोखरामा गण्डकी प्रदेशस्तरीय कविगोष्ठी सफलतापूर्वक सम्पन्न गरेको छ। कवितामार्फत समाज रूपान्तरणको चेतना फैलाउने उद्देश्यसहित आयोजित कार्यक्रममा गण्डकी प्रदेशका ८ जिल्लाका ८ कविहरूले प्रगतिशील चेतनाका कविता प्रस्तुत गरेका थिए।

प्रलेस, गण्डकीका अध्यक्ष प्रा. डा. यदुनन्दन उपाध्यायको अध्यक्षतामा सम्पन्न कविगोष्ठीमा लमजुङका वासुदेव थापा, तनहुँका युवराज पौडेल, गोरखाका रामप्रसाद खनाल, स्याङ्जाका अनन्त अर्याल, म्याग्दीका प्रकाश अधिकारी, बागलुङका लाल ऋतम्भरा, पर्वतका राजकुमार निरञ्जन र कास्कीकी गीता तिवारीले आफ्ना कविता वाचन गरे।

वाचित कवितामाथि समीक्षा गर्दै साहित्यकार नारायण मरासिनीले गण्डकी प्रदेशमा प्रगतिशील कविताको भविष्य अझ सशक्त र उज्यालो बन्दै गएको बताए। उनले कविताले नेपाली समाजको प्रतिनिधित्व गर्नुका साथै वर्तमानमा देखिएको परिवर्तनको आकाङ्क्षालाई मुखरित गरेको उल्लेख गर्दै प्रगतिशील कविताको स्कुलिङलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए।

प्रलेस, गण्डकीका सल्लाहकार रघुनाथ अधिकारीले कविता मानवीय जीवनलाई छुनुपर्नेमा जोड दिए। प्रगतिशील कविताले यथास्थितिका विरुद्ध बुलन्द आवाज उठाउनुपर्ने भन्दै उनले गण्डकी प्रदेशका नवपुस्ताका कविहरूको स्वर आशालाग्दो रहेको धारणा व्यक्त गरे।

प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य भीम रानाभाटले साहित्य स्वान्त सुखायका लागि मात्र नभई समाजप्रति उत्तरदायी हुनुपर्ने बताए। “के लेख्दै छु, किन लेख्दै छु र कसका लागि लेख्दै छु भन्ने प्रश्नमा लेखक सधैँ सचेत हुनुपर्छ,” उनले भने।

गायिका तथा साहित्यकार हरिदेवी कोइरालाले गण्डकी प्रदेशका प्रगतिशील कविता एकसाथ सुन्न पाउँदा खुसी लागेको अनुभव सुनाइन्।
सचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष निर्मल सापकोटाले स्वागत मन्तव्य दिएका थिए।

कमेन्ट गर्नुहोस्
Share: